इटहरी : नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यले डाक्टर शेखर कोइरालाको पक्षमा मत मागेका छन् । 

मोरङ ६ को प्रतिनिधिसभा उम्मेदवार डा. कोइरालालाई विजयी गराउनुपर्ने प्रतिष्ठाको विषय भएको उनले बताएका छन् । गठबन्धनको तर्फबाट ६ (क) को उम्मेदवार रहेका आचार्यले डा कोइराला प्रदेश १ को सान भएको बताए । ‘आत्मनिर्भर प्रदेश मेरो सपना हो । मेरो सपना पुरा गर्ने सहयोग गर्नुहुने छ भन्ने विश्वास छ ।,’ उनले भने, ‘डाक्टर शेखर कोइरालालाई विजयी गराउनुपर्ने तपाईँ हाम्रो प्रतिष्ठा हो । हाम्रो इज्जत हो । हामीले जिताउनै पर्छ । आजको गठबन्धनको पुष्टि गर्न पनि वहाँलाई जिताउनै पर्छ । वहाँ एक नम्बर प्रदेशको सान हो ।’ 
नेपाली काँग्रेस सुन्दरहरैंचा ६ वडा समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई प्रचण्डको ज्वाइँ भन्दै दाग लगाउन खोजेको बताए । नेपाली काँग्रेसका कार्यकर्ता सँगको भेटघाटमा उनले काँग्रेस प्रति आफ्नो सदाशयता रहेको बताएका छन् । 
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी अहिले माओवादी केन्द्रबाट उम्मेदवार भएका हुन् । मतदाता र काँग्रेस कार्यकर्ताको शिर निहुराउने काम नगर्ने बताएका आचार्यले युद्धको कुरा सम्झिएर भाँचिएको मनलाई नबल्झाउन आग्रह गरे । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ज्वाइँ समेत रहेका उनी २०७४ को निर्वाचनमा पनि वामगठबन्धनको तर्फबाट उम्मेदवार भएका थिए । यस पटक प्रतिनिधिसभाका काँग्रेसका उम्मेदवार डाक्टर कोइराला सँगै उनी चुनावी अभियानमा छन् ।