इटहरी :सुनसरी क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित घोषणापत्रमा इटहरीको जनता बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकाश गर्ने उल्लेख छ । 
शुक्रवार इटहरीको इनटुरिस्ट होटेलमा एक कार्यक्रमका बिच घोषणापत्र सार्वजनिक गरिएको हो । सुनसरी २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार द्वारिकलाल चौधरी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विकाश केसी, काँग्रेस २(क) प्रदेश क्षेत्रीय सभापति सुवेक्छु देवान लगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् । 
तरहराको कृषि अनुसन्धान केन्द्रलाई कृषि वन विज्ञान क्याम्पस बनाउने, योग ध्यान र साइकल संस्कृतिको विकाश गर्ने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गरिने घोषणापत्रमा उल्लेख छ । 
हरेक वडामा कृषि प्राविधिक व्यवस्थापन गर्ने देखी हाट बजार व्यवस्थापन गर्ने र ‘एक गाउँ एक सहकारी र एक घर एक रोजगारी’ को व्यवस्था ल्याउने घोषणापत्रमा बताइएको छ । इटहरीको डुबान नियन्त्रण गर्ने देखी सेरा र टेङ्ग्रा खोलालाई स्थानान्तरण र भूमिगत पानीको दोहनलाई नियन्त्रण गर्ने उल्लेख गरिएको छ । 
वास्तविक सुकुम्वासी पहिचान गरी सुकुम्वासी समस्या समाधान गर्ने, धुवाँ प्रदूषण नियन्त्रणको नीति बनाउने समेत बताइएको छ । प्रदेश १ को नामाङ्कन पेचिलो बनिरहेको अवस्थामा सत्तारुढ गठबन्धनका उम्मेदवारले बहु पहिचानमा आधारित प्रदेशको नाम राख्ने प्रतिबद्धता जनाएका छन् ।