धरान : बैङ्क तथा वित्तीय संस्थामा भएको ब्याजदर वृद्धिले उद्योगी व्यवसायी मारमा परेको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले विरोधको कार्यक्रम तय गरेको छ । राष्ट्र बैङ्कले जारी गरेको निर्देशिका र बैङ्कको ब्याजदर धान्न सक्ने अवस्था नरहेको भन्दै उवासंघ सुनसरी आन्दोलनमा उत्रिने भएको हो । 
कार्त्तिक २३ गते बुधवार देखी कार्यक्रम सुरु गर्ने बताएको उवासंघ सुनसरीले बैङ्क तथा वित्तीय संस्थाको मनोमानी बढेको बताएको छ । २३ गते बुधवार कुनै पनि बैङ्क सँग कारोबार नगर्ने र २ घण्टा प्लेकार्ड बोकेर मौन जुलुस गर्ने जनाइएको छ । 
उवासंघ सुनसरीका प्रचार तथा सङ्गठन सचिव शशि शाहका अनुसार २५ गते शुक्रवार १० बजे उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को कार्यालयमा भेला भई मुख्यमन्त्री र राष्ट्र बैङ्कको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । २८ गते सोमबार उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालय काठमाण्डौंमा धर्ना दिइने शाहले बताए । 
उवासंघ सुनसरीका सदस्य तथा पदाधिकारीलाई उपस्थितिको लागी अनुरोध गर्दै उनले राष्ट्र बैङ्कले व्यापारी र उद्योगीको हित विपरीत काम गरेको जानकारी दिए । पछिल्लो समय बढ्दो महँगी र ब्याजदर वृद्धिको कारण व्यवसायी मात्र नभएर उपभोक्तालाई धेरै समस्या परेको उनको भनाई छ ।