धरान : नेकपा एमाले पार्टी परित्याग गरेर सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभाकाका लागि स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङ्बोको आज धरानको भानुचौकमा चुनावी सभा हुदैछ । 

धरानको भानुचोकमा निर्माण गरिएको स्टेजमा दिउसो १ बजे चुनावी सभा हुने निर्वाचन परिचालन मूल कमिटीका संयोजक किशोर कुमार कार्कीले जानकारी दिए । सभामा उम्मेदवार मेन्याङ्बोसँगै स्थानीय बक्ता नै हुनेछन् । उद्योगी, व्यापारी, बुद्धिजीवी, युवा, अभियान्ताहरुले सम्बोधन गर्नेछन् । 

राजनीतिक दलहरूको गलत निर्णयको कारण अहिले दल प्रति वितृष्णा पैदा भएकोले आजको सभामा जति पनि उपस्थित हुनेछन् मनोज मेन्याङ्बोलाई साथ दिनेको उपस्थिति हुने संयोजक कार्कीले बताए । स्थानिय तहको निर्वाचनमा दलहरूले हजारौँ मानिस चुनावी सभामा उतारेर पनि हार बेहोरेको देखेका हामीले चुनावी सभाको उपस्थितिलाई हेरेर निर्वाचनको परिणाम आकलन गर्न नहुने बताउँदै संयोजक कार्कीले भने आजको सभामा दुई हजार सम्मको सहभागिता हुन सक्ने बताए ।  

आज हुने सभाको बारेमा उम्मेदवार मनोजकुमार मेन्याङ्बोले भने घर दैलो कार्यक्रममा मतदाताहरूको राम्रै प्रतिक्रिया पाए, आफ्नो चुनाव चिन्ह खरायोमै माहौल बनेको छ । अव घरदैलो गर्न १,२ र १२ नम्बर वडा वाकी रहेकोले सो क्षेत्रमा यो चुनावी सभा पछि घर दैलो अभियान गर्ने उनले बताए । 

संयोजक कार्कीले पनि चुनावी अभियान तीव्र रहेको र चुनाव चिह्न खरायोको पक्षमा माहौल बनेको बताए । सबै पक्षबाट सहानुभूति, सद्भाव प्राप्त भइरहेको भन्दै उनले भने,‘हाम्रो चुनावी अभियान सन्तोषजनक छ, सु:खद छ । सबैबाट सहानुभूति र सद्भाव पाइराखेका छौँ । त्यसैले हाम्रो अभियान परिणाममुखी भइरहेको छ ।’