चतरा : सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले चतरा धाममा आयोजना हुने कुम्भ मेलालाई अन्तर्राष्ट्रिय रूपमा महत्त्व बुझाएर संसारभर यसको महिमा फैलाउने बताएका छन् । 
वराहक्षेत्रको वडा नम्बर १ मा आइतबार चुनावी कोणसभामा सम्बोधन गर्दै उनले नेपालमा चतराधाममा मात्र लाग्ने एकमात्र कुम्भ मेलालाई प्रवर्द्धन, व्यवस्थापन र आयोजन गराउनका लागि लागिपर्ने बताए । चतरा क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएकाले रामधुनी, वराहक्षेत्र, सुर्यकुण्ड, विण्णुपादुका, विजयपुर, रामधुनीको शङ्कर बेली र अमाह पोखरीलाई सर्किट बनाउने योजना बनाउने मुक्साहाङ मेन्याङ्बोले बताए। उनले चतरा विष्णुपादुका हुँदै भेडेटार केबलकार सञ्चालन गर्न सकिने भएकाले यसको काम समेत थालनी गर्ने बताए ।
सुनसरी १ धार्मिक तथा सांस्कृतिक रूपमा अपार सम्भावनाको क्षेत्र भएको बताउँदै यसलाई स्थानीयको आम्दानी र पर्यटनको केन्द्र बनाउने सकिने बताए ।
उनले आफू युवा भएको हिसाबले पनि धेरै मतदाताले विश्वास र भरोसा देखाएको बताउँदै यो उत्साहले चुनावमा विजयी हुने सङ्केत मिलेको दाबी गरे । यस अघिका जनप्रतिनिधिले जनतामाझ झुटा आश्वासन बाँड्ने गरेको आरोप लगाए । चुनाव अघि यो गर्छौ त्यो गर्छौ भन्ने तर जितेपछि आफ्नो क्षेत्रको समस्याबारे केही नगर्ने प्रवृत्तिले जनतामा निराशा पैदा गरेको छ ।’ उनले भने “अब हामी त्यसो हुन दिने छैनौँ जनतामाझ चुनाव जितेपछि समस्या बुझ्न आउने छौँ, शासक हैन सेवक बनेर काम गर्नेछौँ ।” 
उनले स्थानीय सरकार, प्रदेश सरकार सङ्घीय सरकार सँग समन्वय गरेर बक्लौरी धरान जोड्ने सडक, चतरा-सुर्यकुण्ड सडकलाई प्राथमिकताका साथ अघि बढाउने बताए । 
धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखि भ्रष्टाचार तथा बेथिति रहेको बताउँदै यस पूर्ण रूपमा अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने समेत तर्क राखे । उनले भने "पूर्वपश्चिम मदन भण्डारी राजमार्गलाई पनि सम्पन्न गर्ने र यो क्षेत्रलाई क्षेत्रीय सडक सञ्जालबाट जोड्ने, बक्लौरी, भरौल, धरानलाई जोड्ने अर्को पट्टी पर्यटकीय बाटाहरू पनि छन्, जस्तो चतरा सुर्यकुण्ड हुँदै चियाबारी, विष्णुपादुका मन्दिर हुँदै धरान जोड्ने । यसो गर्दा यो एउटा सडक नेटवर्कबाट जोडिन्छ, र यो क्षेत्रको विकासको लागि पर्यटन प्रवर्द्धन गर्नको लागि एउटा पूर्वाधार निर्माण हुनेछ । यो क्षेत्र आफैमा ऐतिहासिक प्राचीन क्षेत्र हो, जस्तो वराहक्षेत्र मन्दिर छ, विष्णुपादुका मन्दिर छ, सुर्यकुण्ड छ । रामधुनी पनि जोडिएको छ । यता विजयपुर, पिण्डेश्वरी, बुढासुब्बा छ । यी सबै हेर्दा ऐतिहासिक, प्राचीन क्षेत्र भएकोले यहाँ ठुलो मात्रामा देशभित्र र बाहिरका पर्यटक भित्र्याउने प्रचुर सम्भावना छ । त्यसको निम्ति पहिलो पूर्वाधार हो, सडक नेटवर्कले जोड्ने कुरा । त्यसपछि अन्य क्रमशः गर्दै जाँदा यो क्षेत्र पर्यटनको हब बन्छ।"