सुनसरी : नेकपा एमाले अध्यक्ष केपी ओलीले काँग्रेसका नेता विजयकुमार गच्छदारले पटक पटक धाँधली गरेर चुनाव जितेको आरोप लगाएका छन् । आज सुनसरी क्षेत्र नम्बर ३ मा चुनावी सभालाई भाषण गर्दै २०४८ साल देखि पटक पटक धाँधली गरेर, बाकस साटेर सांसद बनेको आरोप लगाएका हुन् ।
उनले राणा शासन, पञ्चायत फालिएको बताउँदै विजय गच्छदारले बाकस साटेर चुनाव जित्ने दिन गएको बताए । ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई धाँधली गरेको थाहा पाए कडा प्रतिवाद गर्न समेत निर्देशन दिए ।
उनले जसपाका नेता तथा कार्यकर्तालाई सुनसरी ३ मा सूर्य चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे । उनले निर्वाचन क्षेत्र नम्बर १ मा जसपाको मत धेरै कम भए पनि जसपाका अशोक राईलाई एमालेले सघाएको स्मरण गराउँदै ३ मा जसपाले भगवतीलाई जिताउन आग्रह गरे ।
स्थानी सरकार सञ्चालनका लागि जसपा सहितको गठबन्धन रहने बताउँदै एमालेसँग सहकार्य भएका पार्टीका नेताहरूले जसरी पनि चुनाव जित्नु पर्ने दाबी गरे ।