इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले सुनसरी ४ मा पुगेर ज्ञानेन्द्र बहादुर कार्कीको लागि मत मागेका छन् । विगतमा विश्वेश्वर प्रसाद कोइराला निर्वाचन लडेको र गिरिजा प्रसादले सङ्गठन गरेको क्षेत्रमा कार्कीले मलजल गरिरहेको बताउँदै जित अनिवार्य सर्त रहेको बताए । 
नेपाली काँग्रेसको आन्तरिक विवादको कारण अप्ठ्यारोमा रहेका कार्कीलाई शेखरले साथ दिएका हुन् । १४ औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्कीले कोइराला समूहलाई क्षेत्रीय प्रतिनिधिमै रोकेको आरोप छ। लामो समय पनि पार्टी भित्रको तुस मेटाउन नसकेपछि इतर समूहका नेता शेखर लाइनै बोलाएर कार्कीले सभा आयोजना गरेका हुन् । 
सञ्चार सूचना तथा प्रविधि मन्त्री कार्की यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । मौन अवधिको पुर्वसन्ध्यामा आयोजित कार्यक्रममा शेखरले कार्कीको उम्मेदवारीमा एकबद्धता जनाउन आएको उद्घोष गरे । 
‘राजनेता गिरिजाप्रसाद कोइरालाले सङ्गठन गरेको क्षेत्रमा ज्ञानेन्द्र जीले काँग्रेसलाई मलजल गर्दै हुनुहुन्छ । अहिले काँग्रेसमा कुनै विवाद छैन । काँग्रेस एक ढिक्का छ । गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गर्छु,’ उनले भने । 
एमालेको पालामा दुई पटक संसद् विघटन भएको उनले बताउँदै शेखरले हालको गठबन्धन मिलेर सरकार बनेको र संविधान जोगाएको बताए । पुनः काँग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्ने सुनाउँदै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । 
कोसी कटान र वन्यजन्तुको समस्या समाधान गर्ने समेत बाचा गरे । देशकै समस्याको रूपमा चिनिएको क्षेत्र नम्बर ४ को समस्यालाई समाधान गर्न ज्ञानेन्द्र कार्कीको जित अनिवार्य रहेको उद्घोष गरे । 
नागरिकता विधेयक असफल भएको कारण धेरै नागरिक अनागरिक भएको उनले सुनाए । अब बन्ने सरकारले नागरिकता विधेयक ल्याएर धेरै नागरिकता पाउन नसकेका नेपालीले नागरिकता पाउने वातावरण बनाउने उनको भनाई छ ।