सुनसरी : सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा(एमाले) का नेता भीम आचार्यले आफूले जनताको अपेक्षा भन्दा बढी विकास निर्माणका कामहरू गरेको बताएका छन् ।

उनले प्रदेशको सांसद हुँदा देखि मुख्यमन्त्री हुँदा सम्म जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरू बनाउन र स्थानीय सरकार मार्फत विकास गतिविधि अघि बढाएको बताएका हुन् । आफू तत्कालीन पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, वराहक्षेत्र, रामधनी, बर्जू ताल, तालतलैया सबैमा पहिलो केन्द्रीय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’

दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा विकासका धेरै कामहरू गरेको भन्दै निर्वाचन क्षेत्र विशेष विकास निर्माणका कामहरू पनि प्रशस्तै गरेको बताएका छन् ।

उनले आफू कुनै कुराको सस्तो वाचा नगर्ने, तर गरेका वाचाहरू पुरा गर्ने स्वभावको भएको बताउँदै भने, ‘म इन्जिनियरिङ र व्यवस्थापन विषय पढेको मान्छे, व्यवस्थित विकासको लागि स्रोत, साधन र तरिकाहरूबारे जानकारी छ, त्यसैले गरेका प्रतिबद्धताहरू पुरा गर्छु, त्यो विगतको कार्यले पनि देखाउँछ ।"

उनले आफ्ना विपक्षी र विरोधीहरूले आफ्नो आलोचना गर्ने कुनै विषय नपाएको बताए । उनले भने, ‘मैले गरेका प्रतिबद्धताहरू पुरा गरेको छु, तर साथीहरू वर्षे नि एउटै सडकलाई, एउटै विषयलाई भजाउँदै चुनाव लडिरहनुभएको छ, अब जनताले वहाँहरूलाई प्रश्न गर्नुपर्छ ।’

उनले तत्कालीन सुनसरी क्षेत्र नं. ६ बाट निर्वाचित हुँदा लौकही–मधुवन–प्रकाशपुर, चिरौली चोक–प्रकाशपुर, झुम्का–प्रकाशपुर र महेन्द्रनगर जाने बाटो, कान्छी चोक-चतरा, धरान-चतरा, धरान-विष्णुपादुका जाने बाटो कालोपत्रे गरेको । बाङ्गे चक्रघट्टिका धेरै बाटाहरू पनि अहिले निर्माणाधीन रहेको बताउँदै झुम्काको लगुना चोकबाट रामधुनी हुँदै धरान जाने र धरानबाट विष्णुपादुका जाने बाटो निर्माणाधीन रहेको बताए ।

१२ करोडको बजेट लगाएर सर्दु कोरिडोरको योजना बनाएकोमा ठेक्का लागेर निर्माणको काम चालु रहेको उनले जानकारी दिए । यस्तै धरानमा बहुजातीय सङ्ग्रहालय पर्यटन मन्त्री हुँदा देखि नै सुरु गरेको बताउँदै समितिको कामले ढिलासुस्ती भइरहेपनि ४-५ करोड बजेट विनियोजन भैसकेको उनले बताए ।

विजयपुर डाँडा, विष्णुपादुका मन्दिर, वराहक्षेत्र मन्दिरलाई आधुनिक बनाउने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै तत्कालीन सबै गाविसमा खानेपानीको योजना सुरु गरेको जानकारी दिए ।

हरेक माविलाई प्लस २ बनाउन, आवश्यक विद्यालय भवन बनाउन र कतिपय विद्यालयका शिक्षालाई प्राविधिक शिक्षामा रूपान्तरण गरिएको पनि उनले जानकारी दिए ।  आवश्यक ठाउँमा पुल, तटबन्ध र अन्य पूर्वाधारका कामहरू गरेको जानकारी दिए । उनले आफू निर्वाचन क्षेत्रमा मात्रै नभई अहिले सुनसरी क्षेत्र नम्बर २ मा पनि धेरै काम गरेको बताए । उनले सुनसरी क्षेत्र नं. २ मा पर्ने विभिन्न पूर्वाधारको विकास निर्माणका काम पनि गरिरहेको बताए । ‘यो निर्वाचन क्षेत्रमा पनि कहीँ मन्दिर, स्कुल, खानेपानी, सिचाईका प्रोजेक्टहरू सञ्चालन गरेका छौँ,’ उनले भने । देवानगञ्ज गाउँपालिकामा आफ्नै पहलमा बजेट राखेर सिँचाइ आयोजना निर्माणाधीन रहेको जानकारी दिए ।

सुनसरीमा बाँध र सिचाईको योजनामा पहल गरिरहेको उनले बताए । नेपाली काँग्रेसबाट यसअघि यस क्षेत्रमा निर्वाचित सीताराम मेहताले पटक पटक आश्वासन दिएर पनि नबनाएको चर्चित इनरुवा-कौवाखोज सडकलाई आफूले पहिलो प्राथमिकता दिएको बताए ।

यस्तै उनले इनरुवा–दुहबी जाने बाटो फोर लेनको बनाउने कामलाई प्राथमिकता दिएको बताए । ‘म मुख्यमन्त्री हुँदा त्यो बाटोलाई अलिकति अगाडि बढाउने काम गरेको थिएँ, अहिले ठेक्कापट्टा हुने अवस्थामा त्यो पुगेको छ,’ उनले भने ।

उनले आफूले यो पटक चुनाव जितेमा सहरी क्षेत्रको व्यवस्थित र आधुनिक सहरीकरण गर्ने र ग्रामीण क्षेत्रमा सडक, खानेपानी लगायत पूर्वाधारको विकाससँगै कृषि विकासमा जोड दिने बताए ।

उनले इटहरी, इनरुवा र रामधुनी नगरमा व्यवस्थित र आधुनिक सहरीकरणको योजना बनाएर लागु गर्ने बताए । यस्तै देवानगञ्ज र हरिनगरामा कृषि, सडक र उद्योगको विकासको योजना बनाइने जानकारी दिए । ‘सहरी क्षेत्र र ग्रामीण क्षेत्रका आवश्यकताको आधारमा विकास गरिनेछ,’ उनले भने, ‘त्यो योजनाबद्ध र दीर्घकालीन हुनेछ ।’

उनी छोटो समय मुख्यमन्त्री हुँदा पनि उल्लेखनीय विकासका काम अघि बढाएको बताए ।  उनले आफू दुई महिना प्रदेश मुख्यमन्त्री हुँदा प्रदेशको संरचनालाई प्रत्येक जिल्लामा पुर्‍याउन हरेक जिल्लामा कार्यालय खोल्ने निर्णय गरेको जानकारी दिए ।

न्यून आय भएको प्रदेशको आय बढाउनका लागि जनतामा अतिरिक्त भार नपारीकन २५ अर्ब रुपैयाँ बढी आम्दानी गर्ने गरी योजना बनाएको बताए । त्यसको लागि उच्चस्तरीय राजस्व सुधार समिति बनाएको, काठमाडौँबाटै प्रशासनिक विज्ञहरू बोलाएर तीन महिना अध्ययन गर्दा प्रत्येक वर्ष २५ अर्ब रुपैयाँ आम्दानी बढाउन सकिने देखिएको उनले ठोकुवा गरे । ‘प्रत्येक वर्ष बजेट बढाउने र हरेक साल त्यसलाई बढाउँदै गएर पाँच वर्षमा एक खरबको बजेट बनाउने योजना मैले बनाएको थिएँ,’ उनले भने ।

पर्यटन विकासको लागि पर्यटन समिति, खेलकुदको समिति, पत्रकारको समिति, उद्योग र मजदुरको बिचमा समन्वय गर्ने समिति पनि बनाएको उनले बताए । तर आफू पछि आएका मुख्यमन्त्रीले त्यसलाई निरन्तरता नदिँदा ती महत्त्वपूर्ण योजनाहरू अलपत्र परेको उनले बताए । यातायात र मालपोत कार्यालयलाई अनलाइन सिस्टममा ल्याउने विषयमा पहिलो क्याबिनेटमा निर्णय गरेर तयारीको काम अघि बढेको उनले जानकारी दिए । ‘अझ मसँग डेढ दुई महिना समय भएको भए त्यो कामलाई लागु गर्थेँ,’ उनले भने । उनले आफू टालटुले र क्षणिक भन्दा पनि दीर्घकालीन र व्यवस्थित विकास हुनुपर्छ र गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए । ‘म पार्टिकै नेता हुँदा डेढ वर्ष लगाएर मास्टर प्लान बनाएको थिएँ,’ उनले भने ।