धरान : मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६८ दिनमा ढलेको छ।

एमाले विभाजन हुँदा १० जनाले एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य शपथग्रहण गर्दै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले शपथग्रहण गरेका थिए ।

तर दल विभाजन भएको ३० दिन भित्र आफूसँग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनु पर्नेमा उनले त्यसो नगरी संवैधानिक प्रावधानलाई छल्दै आफू अनुकूल व्याख्या गरेर ६८ दिन सम्म सरकार टिकाएका थिए ।

उनले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश प्रमुख समक्ष राजीनामा दिएपछि विपक्षीहरूको गठबन्धनबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एमाले विभाजित भएपछि भदौ १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ। तर संवैधानिक व्यवस्थालाई समेत छल्दै आचार्यले ६८ दिन सम्म विभिन्न असंवैधानिक नियुक्ति गर्दै आफ्नो पद जोगाएका थिए ।

प्रदेश नं.१ को प्रदेश सभामा ९२ जना सांसद छन् । बहुमतको लागि ४७ मत आवश्यक पर्थ्यो । तर आचार्यसँग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहे पनि सभामुखले निणर्यक मत मात्र दिन पाउने र एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो ।

विपक्षी गठबन्धनमा भने स्पष्ट ५० मत छ । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन् ।

प्रदेश १ मा नयाँ सरकार गठनको आव्हान

प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यको राजीनामा बुझे लगत्तै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

Rajinama-Patra