सुनसरी : मङ्सिर ४ मा हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ (१) मा मुख्यगरी काङ्ग्रेस सहितको पाँच दलीय गठबन्धन र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गठबन्धनबाट केही समय अघि नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका इटहरी उपमहानगर निवर्तमान प्रमुख द्वारिकलाल चौधरी र एमालेबाट पार्टीका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी चुनावी मैदानमा छन् । तर यी दुईलाई टक्कर दिइरहेका छन्, स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले । 
नेपाली काङ्ग्रेस इटहरी वडा नम्बर २ वडा सभापति समेत रहेका घिमिरेले सक्रियता बढाएसँगै चुनावी प्रतिस्पर्धा दुईबाट तीन जना बिच हुने देखिएको छ । लामो समय पार्टीमा रहेर सक्रिय काम गरेका घिमिरे जनतामा राजनीतिक दलप्रति देखिएको वितृष्णालाई 'क्यास गर्ने' दाउमा छन् । 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले काङ्ग्रेसबाट वडा अध्यक्षमा टिकट पाएका थिए । वडामा पार्टीको संरचना कमजोर हुँदा उनले झिनो मतान्तरले पराजित भए । समाजमा रहेर सामाजिक सेवामा तल्लीन रहने उनले गत स्थानीय तहको निर्वाचनमा भने टिकट पाउन सकेनन् । आफ्नो जित्ने आधार बनाएका भए पनि पार्टीले अर्के व्यक्तिलाई उम्मेदवार उठाएपछि उनी पार्टीप्रति रुष्ट थिए । पार्टीको निर्णय विरुद्ध स्वतन्त्र उम्मेदवार समेत दिए । तर उनले मनोनयन गरेपछि आफ्नो उम्मेदवार निष्क्रिय पारे ।
इटहरीमा राम्रो उपस्थित रहेको काङ्ग्रेसले प्रदेशमा टिकट पाएन । पाँच दलीय गठबन्धनका कारण यो क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवार उठायो । आफ्नो जनमत राम्रो हुँदा हुँदै माओवादीलाई उम्मेदवार दिएपछि घिमिरे पार्टी नेतृत्वको निर्णय विरुद्ध उत्रिएका हुन् । उनले इटहरी माओवादी पीडितहरूको सहर भएकाले हँसिया हथौडामा काङ्ग्रेसले भोट हाल्न नसक्ने बताउँदै उक्त मतको सदुपयोग गर्न आफू चुनावी मैदानमा आएको बताए ।
त्यस्तै उनले नेकपा एमालेमा रहेर लामो राजनीति गरेको जिल्ला पार्टी अध्यक्ष रेवती रमण भण्डारीको पनि पार्टी भित्रको अन्तर्द्वन्द्व फाइदा उठाउने दाउमा घिमिरे लागि परेका छन् । पटक-पटक अवसर पाएर उल्लेखनीय काम गर्न नसकेको, अन्य नेता तथा कार्यकर्तालाईलाई पाखा लगाएर आफू मात्रै पदमा पुगेको जस्ता आलोचना खेपेका भण्डारीको मत समेत घिमिरेलाई दिएको छ ।
गठबन्धनका उम्मेदवार चौधरी इटहरी नगर प्रमुख हुँदा गरेका व्यवहार र कार्यशैली विरुद्ध आफ्नो उम्मेदवारी रहेको घिमिरे बताउँछन् । पत्रकारलाई गालीगलौज गर्ने, महिलालाई अभद्र व्यवहार गर्ने, सेवाग्राहीलाई कार्यकक्षमा थुन्ने देखि जातीय विषय ल्याउने जस्ता कारण चौधरी आलोचित बनेका थिए । ती कार्यमा काङ्ग्रेस आफै साक्षी छ भने कतिपय घटना विरुद्ध सडक संर्घषमा समेत उत्रिएको छ । तर आज गठबन्धनका नाममा जथाभाबी टिकट वितरणले आम कार्यकर्तामा निराशा पैदा भएको भन्दै आफ्नो उम्मेदवारी रहेको बताउँछन् । गलतलाई गलत भन्न सक्नुपर्छ घिमिरे भन्छन् । ‘हिजो सम्म जसको विरोध गरियो आज फेरी त्यसैलाई बोकेर चुनाव जिताउनु भनेको आफू निरीह हुनु हो, त्यसैले मैले उम्मेदवार दिएको हुँ, घिमिरेले भने ।’ 
उनले इटहरीलाई प्रदेशको राजधानी बनाउन र एकै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने लगायतका सङ्कल्प पत्र तयार गरेका छन् । घिमिरेले प्रत्येक वडामा खुला व्यायामशाला र खेलमैदान, भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण, नगर बस सञ्चालनको लागि पहल गर्ने, सुकुम्वासी व्यवस्थापन, कृषि विकासलगायतका विभिन्न सङ्कल्प सार्वजनिक गरेका छन् ।
सामुदायिक विद्यालयमा आवश्यकता अनुसार प्राविधिक शिक्षाको व्यवस्थापन गर्ने, इटहरीमा सुविधा सम्पन्न अस्पतालका लागि पहल गर्ने उद्घोष गरेका छन् । त्यस्तै युवालाई रोजगारको व्यवस्थापन गरी स्वदेशमै जीविकोपार्जन गर्न प्रबन्ध गर्ने, इटहरीलाई डुबान र कटानको समस्याबाट रोक्न विशेष योजना अघि सार्ने सङ्कल्प पत्रमा उल्लेख गरेका छन् ।