विराटनगर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवार देखि सुरु हुदैछ । प्रदेश १ सरकारले १६ दिनभरि विविध कार्यक्रम मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी "सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान" भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइने जानकारी दिएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार तथा सरोकारवाला सङ्घ संस्था र निकाय सबै पक्षबाट १६ दिनभरि अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालले जानकारी दिए । उनका अनुसार भोलि प्रदेशका सबै मन्त्रालयहरूमा १६ दिने अभियान सम्बन्धी प्रचार सामग्रीहरू राखिने छ । 
साँझ ५ बजे देवकोटा चौकमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ। मङ्सिर ११ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेतो रिबन, फ्लेक्स र ब्रोसर हस्तान्तरण कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए । 
मङ्सिर १२ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ को व्यवस्था सम्बन्धी फ्लेक्स, ब्रोसर तथा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम गरिने महाशाखा प्रमुख बरालले बताए । 
सामाजिक सङ्घ संस्था, सरोकारवाला तथा महिला अधिकारकर्मीहरुसगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा डिसेम्बर १० का दिन कार्यक्रमबारे समीक्षा, अन्तरक्रिया गरिने उनले बताए ।