इटहरी : नेपाली काँग्रेसका नेता तथा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको क्षेत्र नम्बर ६ प्रदेशसभा २ बाट नेकपा एमालेका परशुराम बस्नेतलाई पराजित गर्दै कार्कीले प्रदेशसभामा लगातार दोस्रो पटक जित हासिल गरेका हुन् । 
यसअघि वाम गठबन्धन हुँदा पनि एमाले उम्मेदवारलाई पराजित गरेका कार्कीले बस्नेतलाई १ हजार १८० मतले पराजित गरे । कार्कीले १० हजार ४ सय ४८ मत पाउँदा बस्नेतले ९ हजार २६८ मत पाए । ६ (ख) मा विराटनगर महानगरपालिकाका ५, ६, ७, ९, ११ र १२ नम्बर वडा पर्दछन् । 
नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट उदाएका कार्की मोरङका प्रभावशाली नेताको रूपमा चिनिन्छन् । नेपाली काँग्रेस भित्र कोइराला समूहका कार्की पार्टी भित्र आन्तरिक शुद्धीकरण अभियान चलाउने नेता हुन् ।