इटहरी : इटहरी जेसीजको ३५ औँ अधिवेशनबाट अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनले योगेन्द्र पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

अध्यक्षमा पौडेलको मात्र उम्मेदवारी परेको हुँदा उनलाई जेसीजको विधान अनुसार अध्यक्ष चयन गरिएको निर्वाचन अधिकृत माधव भट्टराईले बताए । त्यस सँगै कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि सर्वसम्मत भएको उनले जानकारी दिए । 

विधान अनुसार शाखाको कार्यकारिणी उपाध्यक्ष २, सचिव १ र उपाध्यक्ष ४ जना रहने व्यवस्था छ । सोही अनुसार कार्यकारिणी उपाध्यक्षमा टङ्कमणि न्यौपाने (रोविन) र मुक्ति दाहाल रहेका छन् । उपाध्यक्षमा सरोज श्रेष्ठ, गणेश नेपाल, गौरव भण्डारी र प्रदोष ढकाल रहेका छन् । सचिवको एकल पदमा यामकुमार दाहालले जिम्मेवारी पाएका छन् ।  

पूर्व अध्यक्षहरू सहितको उपस्थितिमा आयोजित ककस कार्यक्रममा उम्मेदवार हरूले आफ्नो उम्मेदवारीको बारेमा प्रस्ट पारेका थिए । भावी कार्य योजना र कार्यक्रम बारे उठेको प्रश्नमा अध्यक्षका उम्मेदवार पौडेलले इटहरी जेसीजलाई रचनात्मक र क्षमता अभिवृद्धिको विश्वासिलो आधारको रूपमा प्रमाणित गर्ने बताए । 

कार्यक्रमको अध्यक्षता गरेका लोकनाथ भण्डारीले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै सम्पूर्णलाई बधाई दिए । जेसिजको उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि गर्ने भएकाले आगामी कार्यकालमा थप रचनात्मक भएर अगाडी बढ्न सुझाए ।  आफ्नो कार्यकालमा कुनै त्रुटि भएको भए माफ गर्न आग्रह गर्दै उनले सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।