धरान : धरान-१३ की एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरूलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका चारै जनालाई आज इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मङ्सिर १३ गते मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले ७ जनाको नाममा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान-१३ सूर्य मार्गकी ५५ वर्षीय उर्मिला राईलाई मङ्सिर १५ गते पक्राउ गरिएको डिएसपी बुद्ध श्रेष्ठले बताए । उनलाई १० दिनको म्याद थप गरिएको छ । यस्तै, मङ्सिर १६ गते २६ वर्षीय सुमित्रा राई र धरान-१७ की २९ वर्षीय सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप गरिएको छ । यसै गरी, ४० वर्षीय रत्न लिम्बु सुब्बालाई मङ्सिर १८ गते पक्राउ गरेको र उनलाई ७ दिनको म्याद थप गरिएको बताइएको छ ।
सो घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मिना राई भने को हुन् भन्ने खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताए । साथै, नाम नखुलेका तर घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरूको पनि अनुसन्धान, पहिचान गर्ने र खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए ।
उषा कुमारी राई मृत्यु प्रकरणको बारेमा धरान प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै डिएसपी श्रेष्ठले बाँकी रहेकालाई पनि चाडै पक्राउ गरिने बताए ।