धरान : नेपालको मौलिक लिपिहरू मध्ये प्रमुख किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको तिन सय पचहत्तरौं जन्म जयन्ती धरानमा मनाइएको छ । उक्त अवसरमा आज बिहान तीनकुने स्थित सिरिजंगाको शालिकमा माल्यार्पण गरिएको छ । उनको सम्मानमा चुम्लुङको च्याब्रुङ टोलीले शालिक वरिपरि के-लाङ नाच्दै परिक्रमा गरेको थियो । 
चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापोले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको हो । लिम्बु जातिको मुख्य पर्व चासोक तङनामको बिचमा नै किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेबेको जयन्ती पर्दछ । सिरिजंगा लिपि लिम्बु मातृभाषालाई लेख्य परम्परामा विकसित गर्ने नेपालको मौलिक लिपि हो । 
यसै लिपिमा लिम्बु भाषाका वाङमयमा पाइने इतिहास र साहित्यका सबै विधाहरूका कृति, लिखत पाइन्छन् । हालै आदिवासी किरात समुदायका भाषाहरूलाई पनि लेख्य परम्परामा ल्याउन सिरिजंगा लिपिलाई विकसित गरी यसको नाम किरात सिरिजंगा लिपि राखिएको छ । लिम्बु भाषा संस्कृति लाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको धरान-८ तीनकुने चौक स्थित पूर्ण कदको शालिकमा चुम्लुङले चासोक तङनामकै अवसरमा बाजागाजा सहित सम्मान प्रकट गरिँदै आएको छ ।
सिरिजंग सिंह थेबेको जन्म सन् १७०४ मा तत्कालीन लिम्बुवानको हाल ताप्लेजुङ जिल्ला सिनाम तेल्लोकको याङवरक गाउँमा भएको थियो । इतिहासकारहरूका अनुसार प्रथम सिरिजंगा राजा थिए र उनले लिपिको आविष्कार गरेका थिए । सिरिजंगा सिंहथेबे उनैका अवतारका रूपमा जन्म लिएर लिपिको प्रचार प्रसार गर्दा गर्दै सिक्किममा हत्या भएको थियो ।
पछिल्लो समय सिरिजंगा एकै व्यक्ति थिए र उनी सिरिजंगा सिंहथेबेनै थिए भन्ने तर्क पनि खोजकर्ताहरूले दिन थालेका छन् । प्राज्ञिक रूपमा यसको छिनोफानो भने भएको छैन । तर लिम्बु भाषालाई लेख्य परम्परामा ल्याउने कार्य सिरिजंगा सिंहथेबेले प्रवर्द्धन गरेको लिपिले नै हो भन्ने कुरामा दुईमत छैन । यो लिपिलाई अहिलेको अवस्था सम्म ल्याउने विकास कार्यका धेरै भाषा लिपि वैज्ञानिकहरूको योगदान रहेको छ ।
shrijungal-tinkune