धरान : हिसान स्पोर्टस मिट अन्तर्गत भइरहेको हिसान बास्केटबलको उपाधि धरान मेघा हिमालयन र धरान उच्च माविले जितेका छन् ।
शनिवार भएको फाइनल खेलमा पुरुष तर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमीलाई ४५-३४ र महिला तर्फ धरान उच्चले धरान मेघालाई २१-११ अङ्कले पराजित गर्दै उपाधि माथि कब्जा जमाएका हुन । 
हिसान सुनसरीको आयोजनामा सम्पन्न पुरुष तर्फको फाइनल खेलको प्रत्येक क्वाटरमा मेघा हिमालयन र एम्स एकेडेमीले १३-९, १०-१२, १३-१० र ९-३ अङ्क जोडेका थिए । यसै गरी महिला तर्फ धरान उच्च र मेघा हिमालयनले ६-२,२-६,९-१ र ४-२ अङ्क जोडका थिए । विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाइनल खेलको म्यानअफ द म्याच पुरुष तर्फ धरान मेघाका सविन राई र महिला तर्फ धरान उच्चका सविना राई घोषित भए । मोस्ट इमर्जिङ्ग प्लेयरमा पुरुष तर्फ एम्सका सितम लिम्बु र महिला तर्फ मेघा हिमालयनका सम्झना राई घोषित भए । हाइ स्कोररमा पुरुष तर्फ धरान आदर्शका सौगात मल्ल र महिला तर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर पुरुष तर्फ मेघा हिमालयनका योगेश राई र महिला तर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन । उनीहरूलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सभासद् माननीय रमेश बस्नेत, कार्यक्रमका सभाध्यक्ष हिसान बास्केटबलका संयोजक अर्जुन घिमिरे, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई हिसान स्पोर्टस मिटका मूल संयोजक हेमन्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान मेघा हिमालयन कलेजमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले द्विप प्रज्वलन गरी रेफ्रिलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।