धरान : नेपालकै नम्बर वान गल्फ खेलाडी शुक्र बहादुर राई सूर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको च्याम्पियन बनेका छन् । 
पार-७० को धरान गल्फ क्लबको कोर्समा बिहीबार १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित शुक्रले उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन २०२० मा बनाएको ९-अन्डर २ सय १ को  रेकर्ड समेत तोडेका छन् । 
नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेलेका थिए । अन्तिम दिन ७-अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै १७-अन्डर १ सय ९३ को नतिजामा धरानकै नीरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उनले उपाधि माथि कब्जा जमाएका उनले नगद १ लाख ४० हजार प्राप्त गरे । 
तेस्रो दिन ३-अन्डर ६७ मा खेल सकाउँदै समग्रमा ९-अन्डर २ सय १ सहित नीरजले दोस्रो स्थान प्राप्त गरे । उनले नब्बे हजार प्राप्त गरेका छन् । २ अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५-अन्डर २ सय ५ सहित तेस्रो स्थानमा चित बुझाए । उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे । 
एमेच्योरतर्फ २-ओभर ७२ मा अन्तिम दिनको खेल सकाएका  राजकुमार राई समग्रमा इभन-पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए । उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए । युवराजले अन्तिम दिन १-अन्डर ६९ सहित ३-ओभर २ सय १३ मा खेल पुरा गरे । कुल १०-ओभर २ सय २० अङ्क सहित सुन्दर राई तेस्रो भए ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्राइभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ सङ्घका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे। 
 नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो । प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशि रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।‌ प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो-एम खेल हुनेछ।