धरान : राष्ट्रपति विद्यादेवी भण्डारीलाई विजयपुर स्थित धार्मिक स्थलहरूमा स्वागतका लागि व्यापक तयारी गरिदैंछ । राष्ट्रपति भण्डारी भोलि माघ १ गते सङ्क्रान्तिको दिन धरान आउँदै छिन् । धरानमा राष्ट्रपतिद्वारा विजयपुर स्थित दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा दर्शन एवं पूजा अर्चना गरिने कार्यक्रम रहेको छ ।

धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रपति भण्डारीद्वारा विजयपुर स्थित तिनै वटा मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार दन्तकाली भगवती मन्दिरमा पूजा अर्चनाका लागि आउँदा राष्ट्रपतिलाई नौ कन्याहरूबाट स्वागत गरिने तयारी गरिँदै छ ।

पिण्डेश्वर महादेव मन्दिरमा राष्ट्रपतिलाई ब्राह्मण बटुकहरूले श्वास्ति वाचन गरी स्वागत गर्ने तयारी गरिँदै छ । बुढासुब्बा मन्दिरमा परम्परागत विधि अनुसार राष्ट्रपतिद्वारा पूजा अर्चना गरिने भट्टराईले बताए । उनका अनुसार राष्ट्रपतिद्वारा पिण्डेश्वर मन्दिर परिसरमा स्थानिय समाजसेवीहरूलाई भेटघाटको कार्यक्रम राखिएको छ । उनले भने ‘तर महामहिमको समय कस्तो हुन्छ भेटघाट कार्यक्रम त्यसैमा निर्भर हुनेछ ।’

राष्ट्रपति भण्डारी विजयपुर क्षेत्रका मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने भएकाले विजयपुर प्रवेश स्थल चौकमा वडा समितिद्वारा स्वागतद्वार बनाइँदै छ । गेट बनाउन खटिएका श्रमिकहरू अनुसार आज रातभरी लगाएर पनि स्वागतद्वार बनाएर सक्न भनिएको छ । यसै गरी विजयपुरका मन्दिरहरूको धमाधम सरसफाइ हुँदैछ ।

यसअघि हिजो शुक्रवार वडा समिति कार्यालयमा राष्ट्रपतिको आगमनको अवसरमा गरिने तयारी बारेका छलफल भएको थियो । बुढासुब्बा मन्दिर गेट स्थित नर्सरी व्यवसायी प्रेमप्रसाद पराजुली अनुसार हिजै सुरक्षा निकाय, ट्राफिक प्रहरीका उच्च अधिकारीहरूले सुरक्षाका दृष्टिले मन्दिर परिसरहरूको अनुगमन गरेका थिए । उनीहरूले अनुगमनमा सहभागी मातहतका अधिकारीहरूलाई ट्राफिक तथा सुरक्षा व्यवस्थापनको निर्देशन दिएका थिए ।

राष्ट्रपति भण्डारी धरान आउनु अघि चतरा, वराहक्षेत्र आउने वराहक्षेत्र नगरपालिकाले जनाएको छ । राष्ट्रपतिले वराहक्षेत्र स्थित सप्तकोशी कोकाहा खोला संगमस्थलमा लाग्ने मकर मेला तथा मकर स्नानको अवलोकन गर्ने बताइएको छ । यसअघि राष्ट्रपति भण्डारीले काभ्रे पलाञ्चोक स्थित पलाञ्चोक भगवतीको पनि दर्शन, पूजा अर्चना गर्ने बताइएको छ ।

राष्ट्रपतिको आगमन वराहक्षेत्रमा बिहान ११ बजे तथा धरान विजयपुरमा दिउँसो १२ को समयमा हुने बताइएको छ । तथापि धार्मिक स्थल दर्शन, पूजा अर्चना एवं स्वागत ग्रहणमा समय लाग्ने भएकोले राष्ट्रपतिको धरान आगमनमा विलम्ब हुनसक्ने स्वागतका लागि खटिएकाहरूले बताए ।

rastrapati-swagat-tayari-2