धरान : वर्षा याममा खानेपानीको लागि धरानमा ठुलै श्रमदानको अभियान चलाइए पनि हिउँद लागेपछि खानेपानीको हाहाकार पुरानै अवस्थामा दोहोरिएको छ । पकुवा खोला, भालुखोलाबाट वैकल्पिक रूपमा पानी ल्याइएको व्यापक प्रचार भए पनि त्यो वर्षाको भेल जस्तो मात्र देखिएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्ड, धरान उपमहानगरपालिकाले फेसबुक मार्फत बुधवार साँझ साढे ५ बजे जारी गरेको सूचनाले यसको पुष्टि गरेको हो । सूचनाले अहिले धरानमा खानेपानीको उपलब्धता तथा वितरण चारकोशे जङ्गल स्थित पुरानै पम्प गरिएको पानीमा निर्भर रहेको स्वीकार गरेको बुझिन्छ ।
सूचनाले धरानमा अहिले खानेपानी ‘पूर्ण रूपले वितरण रोकिएको’ उल्लेख गर्दै भनिएको छ ‘नयाँ आयोजना तर्फका बुष्टर पम्प बिग्रेको, नयाँ पम्प ल्याइएको र हाल्ने कार्य गर्नु पर्ने हुँदा पूर्ण रूपले वितरण रोकिएको जानकारी गराउँद छौँ । साथै चाँडै मर्मत सम्भार गरी पूर्ण वितरण सुचारु गरिने जानकारी गराउँद छौँ ।’ सूचनामा कहिले सम्म पूर्ण रूपमा खानेपानी वितरण रोकिने हो ? खुलाएको भने छैन ।   
खानेपानीको मुद्दाबाट निर्वाचित मेयर हर्क साम्पाङ पद बहाल गरे लगत्तै पकुवा खोला, सर्दु जलाधारमा श्रमदान अभियानमा लागे । वर्ष यामको पानी देखेर धरानवासीले पनि स्याबासी दिए । तर, खानेपानी व्यवस्थापन बोर्डले चारकोशे जङ्गलको पम्प प्रणालीको संरचनाको खराबीमा सुधार गर्न तदरुखता नदेखाउँदा अहिलेको अवस्था आएको सामाजिक सञ्जालमा उपभोक्ताहरूले टिप्पणी गरेका छन् ।
सामाजिक अभियन्ता महेश श्रेष्ठले ‘धरान खानेपानी व्यवस्थापन बोर्डले वर्षा यामभर के हेरेर बस्यो ?’ भनी प्रश्न गर्दै लेखेका छन् ‘ हर्क साम्पाङको पोष्ट हेर्दै बस्यो कि ढुङ्गा बोक्न गयो र अहिले यतिखेर जङ्गलमा भएको बोरिङ गर्ने पम्प मर्मत गर्दै छ ?’
मेयर सम्पाङले निर्वाचित भएपछि खानेपानी परियोजनाको खराबीमा तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । तर उनी भएको प्रणालीलाई चुस्त दुरुस्त बनाएर वितरण प्रणालीमा सुधार गर्ने भन्दा ढुङ्गा बोक्ने प्रचारमा बढी लागे । त्यसप्रति कटाक्ष गर्दै श्रेष्ठले प्रश्न गरेका छन् ‘६/७ महिना अघि नै मेयरले भनेको होइन, जगेडा मेसिन लाउँछु भनेर, किन मर्मत र परीक्षण हिउँद लाग्नु अघि नगरेर अहिले जनतालाई दुःख दिएको ?’