धरान : बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको २३ औँ संस्करण फागुन १३ गते देखी सुरु हुने निश्चित भएको छ । दुई वर्ष देखी स्थगित हुँदै आएको प्रतियोगिता यसपालि भने पूर्व घोषित मितिमा हुने आज आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले ‘जस्तोसुकै परिस्थिति आइपरे पनि यसपालि गोल्डकप आयोजना गर्ने हाम्रो अठोटलाई पुरा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ २२ औँ संस्करणको पुरस्कार रकम हालै चुक्ता गरेको क्लबले यसपालि धरान उपमहानगरपालिका, वडा कार्यालयहरू सहित प्रायोजक, सह-प्रायोजक सबै पक्षबाट राम्रो सहयोगको वचन पाएको उनले बताए ।
कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटले गोल्डकप स्थगित हुँदै आएको थियो । अहिले आर्थिक मन्दीमा खासै सुधार नभए पनि चुनौतीको सामना गर्दै २३ औँ संस्करण सफल बनाउन क्लब लागि परेको अध्यक्ष राईको भनाई छ । राष्ट्रिय लिगको तयारीका बेला पनि गोल्डकप गर्ने आँट गरिएको उनले बताए । काठमाण्डौमा फागुन १९ देखी राष्ट्रिय लिग हुँदैछ । 
यसपालिको गोल्डकपमा विदेशी टिमका साथै नेपाली नयाँ फुटबल टिमहरू मैदानमा देखिने भएका छन् । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको सहभागीहरूको सूचिमा नयाँ टिमहरू देखिएका हुन् । बङ्गलादेशको काउरन बजार प्रगति सङ्घ (केबिपीएस), क्यामरुनको एभेनिर, भारतको युनाइटेड खर्साङ फुटबल क्लब यसपालि गोल्डकपको मैदानमा उत्रिने छन् । 
नेपाली टिमहरूमा नेपाल पुलिस क्लब (एनपीसी) काठमाडौँ, बागमती युवा क्लब सर्लाही, काकडभित्ता फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र धरान फुटबल क्लब मैदानमा उत्रने पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले भने ‘यसपालि आमन्त्रित विदेशी टिमहरूसँग प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्न काठमाडौँ बाहिरका टिमहरूलाई प्राथमिकता दिएको छौँ ।’ 
गोल्डकप सञ्चालनमा कुल १ करोड ३ लाख ३५ हजार रुपया अनुमान गरिएकोमा विभिन्न श्रोतबाट १ करोड ९ लाख ६० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले आयव्ययको बजेट प्रस्तुत गरे । प्रेस विज्ञप्ति अनुसार पुरस्कार राशि विजेतालाई १० लाख रुपया, उपविजेता लाई ५ लाख र प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई १ लाख रुपया छ ।
23rd-budhasubba-goldcup-preक्लबका महासचिव प्रताप तामाङले भने ‘यसअघि उत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने गरिएकोमा यसपालि नगद पुरस्कारको व्यवस्था गरिएको हो ।’ प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्स २५ हजार, उत्कृष्ट स्ट्राइकर २५ हजार, उत्कृष्ट मिडफिल्डर २५ हजार, उत्कृष्ट प्रशिक्षक २५ हजार, सर्वाधिक गोलकर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपया प्रदान गरिने विज्ञप्तिमा छ ।
यसपालि गोल्डकप सँगै धरान रङ्गशालामा ‘धरान एक्सपो’ पनि लाग्ने भएकोले दुई वर्षपछि आयोजना हुने गोल्डकपमा दर्शकहरू अपेक्षा गरे भन्दा बढी हुने अनुमान गरिएको छ । अध्यक्ष राईले भने ‘यसपालि गोल्डकप नाफामा जाने विश्वास छ ।’ सहयोगीहरू थपिएको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिकाले गोल्डकपको निरन्तरताका लागि विशेष चासो देखाएको उनले बताए ।
उपमहानगरपालिकाको चालु बजेटमा गोल्डकपका लागि कुल ९ लाख रुपया विनियोजन भएकोमा हालै सम्पन्न मध्यावधि नगरसभाले ३ लाख रुपया थप गरी कुल १२ लाख रुपया पुर्‍याएको थियो । अध्यक्ष राईका अनुसार मेयर हर्क साम्पाङले त्यसमा ३ लाख रुपया मेयर कोषबाट भए पनि थप गरी १५ लाख पुर्याउने वचन दिएका छन् । उनले भने ‘यसै गरी धरानका २० वटै वडा कार्यालयबाट सहयोग प्राप्त हुने वचन प्राप्त भएकाले हामी उत्साहित छौँ ।’