धरान : प्रदेश १ को ऐतिहासिक पृष्ठभूमिको वस्तुस्थिति अनुसार पहिचान जनित नाम ‘लिम्बुवान, किरात’ राखियोस् भन्ने माग दोहोर्‍याउँदै किरात याक्थुङ चुम्लुङको भरतपुर, चितवनमा आयोजित २४ राष्ट्रिय चुम्लुङ भेला सोमवार सकिएको छ ।

दुई दिन चलेको भेलाबाट पारित २५ सूत्रीय प्रस्तावहरूमा उक्त माग पनि दोहोर्‍याएको हो । आदिवासी सङ्गठनहरू मध्ये चुम्लुङले पहिलो पटक सरकार सँग ‘नेपालका अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची’ अविलम्ब निर्माण गर्न माग गरेको छ । युनेस्कोले ऐतिहासिक भौतिक सम्पदा विश्व सूचीमा सूचिकृत गरे जस्तै अमूर्त सांस्कृतिक सम्पदा सूचीकृत गर्दछ ।

नेपालका आदिवासी जाति समुदायको प्राग ऐतिहासिक सांस्कृतिक परम्पराको रूपमा चलिआएका कतिपय मौलिक अमूर्त सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत हुने खालका छन् । तर, नेपाल सकारले अहिले सम्म मौलिक नेपाली अमूर्त सम्पदाको सूची निर्माण नगरेको हुँदा नेपालको अमूर्त सम्पदाहरू विश्व सूचीमा सूचिकृत भएका छैनन् ।

चुम्लुङको राष्ट्रिय भेलाबाट पारित १८औँ प्रस्तावमा भनिएको छ ‘नेपाल सरकारले अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण नगरेका कारण ‘याक्थुङ मुन्धुम’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नपाइएको तथ्यलाई हृदयांगम गर्दै सरकारले अमूर्त सांस्कृतिक सम्पदाको सूची अविलम्ब निर्माण गरोस् भनी यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।’

प्रदेश १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागु गर्न निर्माण चुम्लुङले निर्माण गरेको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गराउन माग गरिएका छ । संविधानले मातृभाषा शिक्षाको व्यवस्था गरे अनुसार विद्यालयहरूमा मातृभाषा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै नेपाली भाषा सरह मातृभाषा अध्ययन, अध्यापन गर्न शिक्षा नियमावली परिमार्जन र पाठ्यक्रम, पाठ्य पुस्तकको व्यवस्था गर्न माग  गरिएको छ ।

राष्ट्रिय समावेशी आयोगले संविधानले प्रत्याभूत गरेको व्यवस्थाको प्रतिकुल हुनगरी आरक्षण व्यवस्था हटाउने भनी दिएको सुझाव र सिफारिसप्रति घोर आपत्ति प्रकट गर्दै, त्यस्तो सिफारिस फिर्ता लिन माग गरेको छ । लिम्बुवानका स्थानिय नेपालीकरण गरिएका नामहरू लिम्बु/याक्थुङ भाषामा सच्याउन माग गरिएको छ । 

ताप्लेजुङको पाथीभरा भनिँदै आएको लिम्बु/याक्थुङहरुको पुर्ख्यौली, मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक स्थल मुक्कुमलुङको पुरानै नाम कायम गर्न माग गर्दै त्यहाँ केबलकार निर्माण कार्य अघि बढाए प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।

चुम्लुङबाट पारित प्रस्तावमा भनिएको छ ‘पवित्र स्थलको पवित्रतामा खलल गर्नुका साथै मुन्धुमी रुख पात १० औँ हजार बोट बिरुवा काटेर प्राकृतिक पर्यावरण, वन्यजन्तुको वासस्थल नष्ट गरी व्यापारिक प्रयोजनका लागि केबुलकार निर्माण पूर्व स्वीकृति बिना अघि बढाएमा प्रतिरोध गरिने समेत उद्घोष गर्दछ ।’

chitwan-chumlung-adwesan