धरान : पछिल्लो समय प्रदेश १ को नामकरण लिम्बुवान किरात हुनुपर्ने आन्दोलनमा सक्रिय किरात याक्थुङ चुम्लुङको राष्ट्रिय भेला पहिलो पटक आइतबार देखी चितवनको भरतपुर महानगरपालिकामा हुँदैछ । यसअघि राष्ट्रिय कार्यक्रमहरू पूर्व लिम्बुवान तथा काठमाडौँ उपत्यकामा गर्दै आएको चुम्लुङले पहिलो पटक लिम्बुवान बाहिर राष्ट्रिय चुम्लुङ राष्ट्रिय परिषद् बैठक आयोजना गरेको हो ।
लिम्बुवान बाहिर चुम्लुङ गरिए तापनि भेलाको एजेण्डा लिम्बुवानका जल्दा बल्दा सवालहरूमा केन्द्रित रहेका छन् । हिजो शुक्रवार भरतपुरको ग्लोबल होटेलमा बोलाइएको पत्रकार सम्मेलनमा चुम्लुङ केन्द्रीय महासचिव निरन्तर तुम्बापोले भनिन् ‘प्रदेशको नामकरण लिम्बुवान किरात हुनुपर्ने माग सहित चुम्लुङ राजनीतिक दलहरूको समन्वयमा आन्दोलनरत छ ।’
उनले अरुण कोसी पूर्वको ९ जिल्ला ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा लिम्बुवान राज्यको माग रहे तापनि १ नम्बर प्रदेशको भूगोल अरुण कोसी पश्चिमका ५ वटा जिल्ला थपेर १४ वटा जिल्लाको प्रदेश बनाइएकोले यसको नाम ‘लिम्बुवान किरात’ हुनुपर्ने माग जायज भएको उपाध्यक्ष डा.कमल तिगेलाले स्पष्ट गरे । 
पछिल्लो कालखण्डमा लिम्बु समुदाय अवसर, रोजगारी, व्यवसायको कारण विदेशमा मात्र नभएर नेपालकै सुदूर पश्चिमी जिल्लाहरू सम्म बसोबास गर्न पुगेका छन् । तथापि भाषा, संस्कृति, संस्कार र परम्परा लिम्बुवान भूगोलकै रहँदै आएको छ । लिम्बुवान बाहिर चितवनमा पनि यो समुदायको बसोबास बढेको छ । काठमान्डु उपत्यका मात्र प्राथमिकतामा परेको सन्दर्भमा यसपालि चितवनलाई रोजेको बुझिन्छ ।
राष्ट्रिय चुम्लुङ बैठकमा प्रदेश नामकरण बाहेक पनि महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल हुने बताइएको छ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको मौलिक नाम ‘मुक्कुमलुङ’ स्थापित गर्ने र त्यहाँ निर्माण गर्न लागिएको केबलकारले मौलिकता, वातावरण नष्ट गर्ने धारणाका बारेमा चुम्लुङको भूमिका निर्धारण गरिने बताइएको छ ।
लिम्बु/याक्थुङ भाषा प्रदेश १ मा सरकारी कामकाजको भाषाको रूपमा लागु गर्ने भाषा आयोगको निर्णय कार्यान्वयन गर्ने र विद्यालय, कलेजमा पठनपाठका लागि भाषा योजना, शिक्षक दरबन्दी निम्ति चुम्लुङको भूमिका निर्धारण गरिने छ । प्रदेश र स्थानीय तहहरूका नीति निर्माण, साधन श्रोतमा लिम्बु समुदायको पहुँचमा चुम्लुङको अवस्था र रणनीति तय गरिने छ ।
ऐतिहासिक स्थलहरू, मुन्धुममा आधारित माङगेन्न स्थलहरूको संरक्षणका बारेमा छलफल हुनेछ । साथै लिम्बु/याक्थुङहरुको अमूर्त सांस्कृतिक सम्पदाहरू, थरहरूको सूचीकरण विकासको नाममा भएका अतिक्रमणले सांस्कृतिक पहिचानमा भएको खतराका बारेमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने छ । 
चुम्लुङको आर्थिक, प्रशासनिक प्रतिवेदन सहित छलफलका एजेण्डा कुल १३ वटा रहेका छन् । यसका साथै पछिल्लो पटक लिम्बु/याक्थुङ भाषा लेखनमा प्रयोग हुँदै आएको सिरिजंगा लिपिलाई राईका थरहरू सहित किरात भनिएका जातिहरूले पनि प्रयोग गर्ने गरी वर्ण थप गरी ‘किरात सिरिजंगा लिपि’ नामकरण गर्ने प्रतिवेदनमा पनि छलफल हुने सम्भावना छ । बैठक फागुन ७ र ८ गते चल्नेछ ।
चुम्लुङको सहमतिमा गठन भएको भाषा विज्ञहरूको समितिले तयार गरेको प्रतिवेदनमा पछिल्लो समय चुम्लुङकै विज्ञहरूको प्रतिवेदनमा संशोधनका टिप्पणीहरू आएको पाइन्छ । चुम्लुङ बाहेकका लिम्बु/याक्थुङहरुले वर्ण थपथापप्रति असहमति जनाउँदै आएका थिए । प्रतिवेदन आएपछि त्यसमा देखिएका टिप्पणी बारे राष्ट्रिय चुम्लुङले कस्तो निष्कर्ष निकाल्न सरोकारवालाहरूले चासो राखेका छन् ।