सुनसरी  : आयोजक धरान फुटबल क्लब २३ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ । 
शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब क्वाटर फाइनल खेलबाटै बाहिरिएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
पेनाल्टी सुट आउटमा धरानका रिवश मास्केको प्रहार युकेएफसीका गोलकिपर मनोज प्रधानले रोक्नु नै धरानका लागि दुर्भाग्य बन्न पुग्यो । धरानका रोमन लिम्बु, दोर्जे शेर्पा र मदन लाबुनले गोल गरे ।
युकेएफसीका आकाश प्रधान, सुब्रतो सोरेन, राज राउत, सिद्धान्त क्षेत्री र साशील राईले गोल गरे । त्यसअघि  निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर पाए पनि धरानले त्यसको सदुपयोग गर्न नसक्दा पाहुना टोलीसँग स्तब्ध बन्न पुग्यो ।
खेलको म्यान अफ द म्याच युकेएफसीका गोलरक्षक मनोज प्रधान घोषित भए । उनले नगद ३५ हजार पुरस्कार प्राप्त गरे । भोलि आइतबारको दोस्रो क्वाटर फाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुनेछ ।