सुनसरी : आयोजक धरान फुटबल क्लबले २३ औँ संस्करणसम्म आई पुग्दासम्म बुढासुब्बा गोल्डकपको उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २१ औँ संस्करणमा ट्राइवेकरमा क्यामरुनी फुटबल क्लब डाउफिन्स सँग फाइनलमा पराजित भएको थियो । 
त्यसअघि चार पटकको उपविजेता आयोजक धरान फुटबल क्लब गोल्डकपको पाँचौँ पटक पनि उपविजेता हुँदै उपाधि विहीन वनेको थियो । २०७५ साल फागुनमा १२ वर्षपछि फाइनल पुगेको धरान पुन उपबिजेतामा सीमित बनेको थियो ।
शनिवारबाट सुरु हुने २३ औँ संस्करणको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतसँग प्रतिस्पर्धा गर्दैछ । धरान फुटबल क्लबका प्रशिक्षक सागर घिमिरेका अनुसार धरानको टिममा सबै खेलाडी स्थानिय रहेका छन् ।
धरानका लागि अनुभवी खेलाडी विष्णु सुनुवार, सुरज सुनवार, रोमन लिम्बु, विवेक राई, दोर्जे तामाङ, विनोद राई, वर्तमान राई, किरण शर्मा, रिवश मास्के लगायत खेल्नेछन् । धराने टिमको कप्तानी विष्णु सुनवारले गर्नेछन् भने गोलकिपरको भूमिकामा आशिष् कार्की रहनेछन् ।
कप्तान सुनवार तिनै खेलाडी हुन जसले २१ औँ संस्करणमा सर्वोत्कृष्ट खेलाडी हुँदै स्कुटर पाएका थिए । अर्का अनुभवी खेलाडी सुरज सुनवार पनि २२ औँ संस्करणमा मनाङ मस्र्यांदीबाट खेल्दा सर्वोत्कृष्ट खेलाडी भएका थिए । सहिद स्मारक ए डिभिजन लिगका कारण यस पटक धरानका लागि केही अनुभवी खेलाडीहरूको अभाव हुने देखिएको छ ।
प्रकाश बुढाथोकी, योगेश राई, हेमन्त थापामगर, मिलन राई टिममा हुने छैनन् । उनीहरूको स्थानमा केही उदीयमान खेलाडीले स्थान पाउने सम्भावना छ । अर्जुन राई टिम मेनेजर रहेको धराने टिमले बुढासुब्बा गोल्डकपको लागि एक महिना यता नियमित ट्रेनिङ गर्दै आएको थियो ।