सुनसरी : एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
आज मङ्गलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा पाहुना टोली बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एन्फा मोरङका तर्फबाट सञ्जय धिमाल, सान याक्खा, मनिस धिमालले गोल गरे भने धीरे बिष्टको पेनाल्टी केबिपीएस बङ्गलादेशका गोल कपर कोबिजले रोक्न सफल भए ।
बङ्गलादेशको तर्फबाट भने खोका बाबु बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । खेलमा एन्फा मोरङका गोल किपर रमिजाय गच्छदार उत्कृष्ट खेलाडी घोषित भए ।
धरान रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पुरा भएको छ ।
आजको विजेता एन्फा मोरङले अगामी बिहीबार दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुन सँग प्रतिस्पर्धा गर्नेछ ।
एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । त्यसअघि भोलि बुधवार काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र युकेएफसी भारतबिच प्रतिस्पर्धा हुनेछ ।
युकेएफसी आयोजक धरान फुटबल क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै सेमिफाइनल पुगेको हो भने काकडभिटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ।