धरान : नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलको नेता इन्द्र आङबोलाई आज ताप्लेजुङमा कोसी प्रदेश नामकरण खारेजी संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताहरूले कालो झण्डा प्रदर्शन गर्दै उनको गाडी तोडफोड गर्ने प्रयास गरेका छन् ।
उनी ताप्लेजुङ स्थित पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा गठबन्धनको जित भएकोमा बधाई ज्ञापन गर्न ताप्लेजुङ पुगेका थिए । नेता आङ्बोलाई ताप्लेजुङ प्रवेश गर्दा सशस्त्र क्याम्प छेउ सङ्घर्ष समितिका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका हुन् । 
प्रहरी सुरक्षामा रहेका आङबो चढेको गाडी पछ्याउँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा नेता आङबोप्रति अपशब्द प्रयोग गरी नाका नाकामा निस्केर आक्रमण गर्न भनिएको सुनिन्छ । 
फागुन १७ गते प्रदेश सभामा एमाले काँग्रेसको प्रस्ताव र समर्थनमा प्रस्तुत कोसी प्रदेश’ नामाङ्कन प्रस्तावको पक्षमा माओवादी सांसदहरूले नेता आङबोको ह्विपमा मतदान गरेका थिए । आङबोले माओवादी पहिचानको पक्षमा रहे पनि चुनावमा कमजोर भएपछि प्रदेशको नामकरणमा निर्णायक नभएको बताउँदै आएका छन् ।