इटहरी : नवगठित मन्त्री परिषदमा कोशी प्रदेशले थप दुई मन्त्री पाएको छ ।
कोशी कोरिडोर अन्तरगतमै पर्ने सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित अशोक कुमार राई र तेह्रथुमबाट निर्वाचित सांसद सिता गुरुङ मन्त्री भएका हुन् । राई जनता समाजवादी पार्टीको तर्फबाट र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् । 
यसअघि तिन पटक मन्त्रीको अनुभव सँगालेका राई चौथो पटक मन्त्री बनेका हुन् । नेकपा एमाले पार्टी परित्याग गरी विभिन्न पार्टी गठन र पुनर्गठन पछि उनी सक्तामा पुगेका हुन् । एमाले उपाध्यक्ष त्याग गरेर नयाँ राजनैतिक यात्रामा लागेका राई गत मङ्सिरको निर्वाचनमा एमाले सँगकै गठबन्धनबाट विजयी भएका हुन्। उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन् ।
तेह्रथुमबाट पहिलो पटक निर्वाचित सांसद हुन गुरुङ । नेपाली काँग्रेसबाट एक मात्र विजयी महिला सांसद गुरुङले दोस्रो पटक मन्त्रीको जिम्मेवारी पाएकी हुन् । गुरुङ २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद हुन् । २०७४ को निर्वाचनको पुवसन्ध्यामा राज्यमन्त्री भएकी उनी प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भइन् । उनलाई पराजित गरेका भवानी खापुङ स्वास्थ्य मन्त्री भए ।
पहिलो पटक विजयी भएपछि उनले मन्त्री उपहार पाएकी छिन् । सहरी विकाश मन्त्रीको रूपमा कार्यभार सम्हालेकी उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।
मन्त्री भएसँगै कपुरी न्युज सँग प्रतिक्रिया दिँदै आफ्नो मन्त्रालयको जिम्मेवारी र क्षेत्राधिकार बुझेर अधिकतम काम गर्ने बाचा गरिन् । आफ्नो निर्वाचन क्षेत्रको मात्र नभएर समग्र देशको दिगो विकाशमा काम गर्ने उनले बताइन् । विज्ञको टिम सँग परामर्श र छलफल गरेर अगाडी बढ्ने उनको योजना छ । 
कोशी प्रदेशमा पहिचान सहितको नामाङ्कनको मुद्दा चर्किरहेको छ । आदिवासी जनजातिको पहिचानलाई नसमेटिएको भन्दे आन्दोलन जारी छ । तर सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू सबै आदिवासी जनजाति समुदायका छन् ।
नेकपा माओवादीबाट मोरङका अमनलाल मोदी र भोजपुरका सुदन किराँती मन्त्री भएका छन् । मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा छन् भने किराँतीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा छन् ।
नेपाली काँग्रेसबाट मन्त्री बन्ने तयारीमा देखिएका छन् मोरङका डिकबहादुर लिम्बु । काँग्रेसको भागमा पर्ने ८ मध्ये थप ४ मन्त्रालयमा अझै मन्त्रीको नाम टुङ्गो लाग्न सकेको छैन ।