धरान : अग्रज पत्रकार, साहित्यकार, नेपाली काँग्रेसका नेता गिरिराज आचार्यलाई काठमान्डुमा प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिएको छ ।

गणेशमानसिंह फाउण्डेशनद्वारा राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा प्रदान गर्दै आएको सम्मान यसपालि उनी सहित ६ जनालाई प्रदान गरिएको हो ।सम्मानितहरूलाई पूर्व राष्ट्रपति रामवरण यादवले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका हुन् । समारोह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहको सभापतित्वमा भएको हो ।

२५ हजार रुपैयाँ राशि सहित सम्मान पाउनेमा पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहाल, ‘मुकुट’का सम्पादक पुरुषोत्तम बस्नेत सहित छन् ।

धरानका गिरिराज आचार्यलाई उनले पत्रकारिता, साहित्य लेखन र राजनीतिमा सक्रिय रही लोकतान्त्रिक आन्दोलनमा अतुनलनिय योगदान पुर्‍याएकोमा सम्मानित गरिएको हो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको नेतृत्वमा भएको थियो । सोही आन्दोलनले नेपालमा पञ्चायत शासनको अन्त्य गरी बहुदलीय प्रजातन्त्र पूनःस्थापना गरेको हो ।

ऐतिहासिक परिवर्तनको उक्त अवसरलाई चैत २६ गते मुलुकमा जनआन्दोलन दिवस मनाइँदै आएको छ । सोही अवसरमा फाउन्डेसनले जनआन्दोलनमा योगदान गरेकाहरूलाई सम्मानित गर्दै आएको छ ।

यसपालि भने चैत ३० गते समारोह आयोजना गरिएको थियो । सोही अवसरमा गणेशमान सिंहको जीवनीमा आधारित ग्रन्थ ‘लौह पुरुष’ को अङ्ग्रेजीमा अनुवाद गरिएको पुस्तक ‘आइरन मेन’ विमोचन गरियो । पुस्तकका लेखक घनेन्द्र पुरुष ढकाल हुन् ।