इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको कारण राजधानी विराटनगरमा अशान्ति भएको आरोप लागेको छ ।

नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री केदार कार्कीले मुख्यमन्त्री र मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कारण विराटनगर अशान्त भएको आरोप लगाए ।

प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचानवादी समूह सँग संवाद र वार्ता नगर्नु गलत भएको उनले बताएका छन् । प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरू आन्दोलनमा छन् ।

आन्दोलनको क्रममा पदम कुमार लिम्बु (लाजेहाङ्ग) को मृत्यु भएपछि आन्दोलन उग्र बनेको हो । लाजेहाङ्गलाई सरकारले सहिद घोषणा गरेको छ ।

तथापि नाम परिवर्तन हुनुपर्ने  पहिचानवादीहरूको माग छ । शनिवार लाजेहाङ्गको शव लिएर विराटनगरमा परिक्रमा गर्ने क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते समेत भए ।

आन्दोलनको विषयमा सरकार र प्रशासन गम्भीर नभएको कार्कीको भनाइ छ । उनले भनेका छन् "यो साझा सबाल हो । सबैको एकताले समाधान हुने हो" ।