वराहक्षेत्र : धरान उपमहानगरपालिकाले कोकाहको पानी वराहक्षेत्र नगरपालिकाको भूभाग प्रयोग गरेर धरान लैजाने विषयमा दुई पालिका बिच हुने लिखित सम्झौताका लागि वराहक्षेत्र नगरपालिका पाँच सदस्य रहेको समिति गठन गरेको छ।
दुई पालिका बिच संस्थागत लिखित सम्झौता गरेर मात्र वराहक्षेत्रको भूभागमा पाइप बिछ्याउने काम गर्न माग गर्दै आएको वराहक्षेत्र नगरपालिकाको आइतबार बिहान बसेको कार्यपालिकाको बैठकले सम्बन्धित वडा नं.१ का वडाध्यक्ष किसन थापामगरको संयोजकत्वमा वडा नं.५ का वडाध्यक्ष रोहित काफ्ले र वडा नं ७ का अध्यक्ष कपिल आचार्य, एक जना स्थानीयवासी र वराहक्षेत्रका खानेपानीका कर्मचारी मोती चौधरी सदस्य रहेको ५ सदस्य समिति गठन गरेको हो ।
शनिवार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिका प्रमुख सहित बसेको छलफलबाट दुई पालिकाको कार्यकालपालिका बैठकबाट ५ सदस्य समिति गठन गरी २ दिन भित्र संस्थागत निर्णय गरी लिखित रूपमा सम्झौता गर्ने निर्णय भएको थियो ।
शनिवार भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दुई पालिका बिच लिखित सम्झौता भए पछि मात्र काम सुचारु गर्न माग गरेका थिए । उनले दुई पालिका बिच वातावरणीय प्रभाव, धरानमा पानी श-शुल्क वितरण भए वराहक्षेत्रलाई रोयल्टीको विषयमा दुई पालिका बिच सहमति हुनुपर्ने धारणा राखेका थिए । सामाजिक सञ्जालमा वराहक्षेत्र नगरपालिकालाई लगाएको आरोप र वराहक्षेत्र नगरपालिको अमाह सिमसारलाई धरानले हाम्रो तिर पर्छ भन्ने अभिव्यक्तिको नगर प्रमुख कार्कीले खण्डन समेत गरेका थिए ।
छलफलमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वराहक्षेत्र नगरपालिकाकाका माग सबै सकारात्मक रहेकाले पूरा गर्न तयार रहेको बताए ।
वातावरणीय प्रभावको विषय र रोयल्टीको विषयमा दुई पालिका बिच लिखित सहमति भए पछि मात्र वराहक्षेत्रको भूभागमा श्रमदान गर्ने तयार रहेका छलफलमा धरानका मेयर साम्पाङ भनाई थियो ।
वराहक्षेत्र नगरपालिकाले राखेको मागहरूलाई पूरा गर्न मौखिक सहमति गरेका धरान उपमहानगरपालिका साम्पाङले दुई पालिका बिच जिल्ला समन्वय समितिको रोहवरमा संस्थागत लिखित सम्झौता गर्ने सहमति भएको थियो  ।