उदयपुर : गाईघाटबाट खोटाङको दिक्तेल सडक अन्तरगत पर्ने फोक्सिङटार सिम्पानी सडक खण्ड पटक पटक म्यद थप गर्दा पनि निर्माण कार्य सम्पन्न नभएको प्रति नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री एवं प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले आक्रोश व्यक्त गरेका छन् ।
उक्त सडक देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभी निर्माण व्यावसायीले २०७३ श्रावण ११ गते ठेक्का सम्झौता भै २०७७ श्रावण १० गते निर्माण कार्य सक्ने गरी सुरु गरेको थियो ।
सम्झौता अनुसार निर्माण कार्यको समय सकिएको तीन वर्ष भै सक्यो सडक जस्ताको तस्तै छ । यो विचमा पटक-पटक सम्झौताको समय पनि थप गरियो तर सडक बन्ने कुनै छाँटकाट देखिएको छैन ।
पटक-पटक म्यद थप्दा पनि सडक निर्माण कार्यमा निर्माण व्यवसायीको चासो नदेखिए पछि ठेक्का सम्झौता गराउने कार्यालयले २०७९ पौष ८ गते कालोसुचिमा राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णयका विरुद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरे र उच्च अदालत पाटनले निर्माण व्यवसायीलाई काम गर्न दिनु र अनुगमन गर्नु भन्ने अन्तरिम आदेश २०७९ माघ ४ गते जारी गर्‍यो ।
प्रमुख सचेतक राईले भने अदालतको आदेश भएको पनि ३ महिना २१ दिन भै सक्यो सडक बन्ने कुनै छाँटकाट देखिएन । के खोटाङका नागरिकले कालोपत्रे सडक हेर्न सहर तिरै बसाई जानु पर्ने हो ? कि खोटाङेहरुका आँखा अलपत्र योजना मात्र हेर्न बनेका हुन ?
प्रश्न गर्दै राईले उक्त योजनाको फैसला गर्ने उच्च अदालती आदेशको गलत लाभ ठेकेदारले उठाउन खोजेको बताएका छन् ।
यस्तै राईले धाप्लाङघाटको पक्की पुलको निर्माण कार्यलाई पनि निरन्तर ताकेता गरिरहेका छन् । धाप्लाङघाटको पक्की पुलका निर्माण व्यवसायी मोहन आचार्य र जयराम लामीछानेलाई भेटी निर्माणकार्य चाडो गर्न आग्रह गरेका छन् ।
राईले भनेका छन पुल चाडो निर्माण गर्नुहोस् हाम्रो धैर्यताको बाँध नटुटोस हैन भने अराजक जनप्रतिनिधीको बिल्ला मैले बोक्नु नपरोस् ।