धरान : धरान उपमहानगरपालिकाका २८ जना वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले आज संयुक्त वक्तव्य जारी गर्दै नगर प्रमुख हर्क साम्पाङ र उनका समर्थकहरूका कारण धरानमा अराजकता बढ्दै गएको आरोप लगाएका छन् ।

वक्तव्यमा भनिएको छ  ‘नगर प्रमुख र नगर प्रमुखका समर्थकहरूले सामाजिक सञ्जाल मार्फत गर्दै आएका टिप्पणी आदेश र गैर कानुनी कार्यपद्धतीका कारण अराजकता बढ्दै गएकोप्रति हामी चिन्तित भएका छौँ ।’

‘सञ्चार कानुन बनाएर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा, संरक्षण, संवर्द्धन गर्नुको सट्टा सञ्चार माध्यम, सञ्चारकर्मीलाई गाली गर्ने, सञ्चारकर्मीलाई आफू समक्ष आएर बयान दिन आदेश दिने जस्ता गैरकानुनी र प्रेस, अभिव्यक्ति स्वतन्त्रताप्रति धावा बोल्ने काम भइरहेको छ, यसले हामीलाई लज्जित बनाएको छ’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा ‘नगर प्रमुख र नगर प्रमुखका समर्थकहरूले सामाजिक सञ्जालमा विभिन्न समयमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू माथि अमर्यादित भाषा प्रयोग गरी गालीगलौज तथा धाक धम्की दिने, सामाजिक प्रतिष्ठा माथि आक्रमण गर्ने तथा आफ्ना समर्थकहरूलाई अराजक कार्य गर्न उक्साउने लगायत नियोजित कार्य भइरहेको’ उल्लेख छ ।

वैशाख २५ गते धरान-१७  वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको ठहर गरिएको उल्लेख गर्दै वक्तव्यमा टोल विकास संस्थाहरूको बैठक बसिरहेको बेला ‘नगर प्रमुखका समर्थकहरू हौँ’ भन्दै हुलहुज्जत गर्दै आक्रमण गरिएको घट्नाको घोर भर्त्सना गरिएको छ ।

वक्तव्यमा भनिएको छ ‘साथै उक्त घट्नाका दोषी उपर कडा कानुनी कारबाहीको माग गर्दछौँ ।’

नगर प्रमुखसँग राखिएको ५ बुँदे मागमा उदार भई समझदारी बढाउन नगर प्रमुखसँग अनौपचारिक छलफल भई नगर प्रमुखले कार्यपालिका सदस्यहरूलाई मागेको राजीनामा शब्द फिर्ता गरी कार्यपालिका बैठक बस्ने वातावरण बनाउने अनौपचारिक समझदारी भैसकेको बेला नियोजित रूपमा उक्त घटना घट्नु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

Wada-PR-20

Wada-hastakshyar-26