धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको फेसबुक स्ट्याटसले जनयुद्धमा शहादत प्राप्त गरेका सहिदहरूको अपमान भएको नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग वाइसीएलले एक वक्तव्य मार्फत आपत्ति जनाएको छ ।

मेयर साम्पाङले फेसबुक स्ट्याटस ‘मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने, इन्द्रको अगाडि स्वर्गको बखान्’ लेखाइप्रति वाइसीएलले आपत्ति जनाएको हो । उपमेयर आइन्द्रविक्रम बेघाले ‘जटिल परिस्थिति’ सिर्जना भएको भन्दै वडा अध्यक्षहरुसंग सहमति गर्न मेयरलाई आग्रह गर्दै वक्तव्य जारी गरेपछि उक्त स्ट्याटस लेखेका थिए ।

वाईसीएलले मेयर साम्पाङलाई अमर्यादित र असभ्य शब्द प्रयोग गरेर नबोल्न चेतावनी दिँदै जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्र र १० वर्षे जनयुद्धको जगमा स्थापित संविधानको आधारमा बनेको स्थानिय सरकारकै प्रमुखबाट जनयुद्धप्रति जथाभाबी बोलेर सहिदको अपमान गरेको    विज्ञप्तिमा उल्लेख छ ।

वाईसीएल धरानका अध्यक्ष दीपक तामाङले बिहीबार जारी वक्तव्यमा आफ्नो जग र धरातल बिर्सिएर नगरप्रमुखको हैसियत भुल्दै जथाभाबी सामाजिक सञ्जालमा नलेख्न, जथाभाबी नबोल्न र धरान लज्जित हुनु पर्ने अवस्था सृजना नगर्न, अराजकतापूर्ण व्यवहार, अशिष्ट बोली बचन सच्याउन आग्रह गरेका छन् ।

वक्तव्यमा मेयर साम्पाङले आफ्नो बोलीचाली सच्याएर सभ्य भाषा नबोले उनी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिँदै उक्त परिस्थितिबाट उत्पन्न हुने सबै समस्याको जिम्मेवारी नगरप्रमुखले नै लिनु पर्ने उल्लेख छ ।

YCL-PR