धरान : नेपाली काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई जोड दिदैं रूपान्तरण अभियानको नाममा पार्टी भित्र दबाब समूह सक्रिय भएको देखिएको छ ।

अभियानले सातै प्रदेशका पार्टी कार्यकर्ता बिच आन्तरिक छलफल गर्न प्रदेश स्तरीय भेला आयोजना गर्दैछ । यसै क्रममा कोशी प्रदेशको भेला बुधवार जेठ ३१ गते आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सुनसरी-१ क्षेत्रीय समितिका सभापति सुजेन्द्र तामाङद्वारा बोलाइएको पत्रकार सम्मेलनमा अभियानका अगुवा नेपाली काँग्रेस खोटाङका पूर्व जिल्ला सभापति सुवास कुमार पोखरेलले भेला इटहरी स्थित सोल्टी वेस्टेन्ड होटेल आँपगाछीमा हुने बताए ।

उनका अनुसार भेलामा नेपाली काँग्रेसका प्रदेशभरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, नगर, गाउँ, वडा सभापति सहभागी हुनेछन् । भेलाका काँग्रेसका भातृ सङ्गठन, शुभेच्छुक संस्थाका नेतृत्वहरूको पनि सहभागिता हुनेछ ।

उनले भने ‘भेलाले काँग्रेसको रूपान्तरणका सवालमा दर्जन बढी विषयहरूमा छलफल हुनेछ र पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउने स्पष्ट नीतिहरूको मस्यौदा निर्माण गरिने छन् ।’ अहिलेकै गुटगत राजनीतिमा चल्ने हो भने काँग्रेसको अस्तित्व समाप्त हुने दिन टाढा नभएको उनको भनाई थियो ।

पत्रकारको प्रश्नको जवाफमा उनले अभियान पार्टीकै अङ्ग भएको र यसले काँग्रेसलाई रूपान्तरण गर्ने सवाल अघि बढाएको दाबी गरे । तर पार्टीको नियमित कार्यक्रम भने नभएको उनको भनाई थियो ।

काँग्रेस केन्द्रीय समिति सदस्य तथा सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले हालै एक अन्तरवार्तामा ‘अभियान’ पार्टीको कार्यक्रम नभएको भन्दै कडा आलोचना गरेका छन् ।

उक्त प्रसङ्गमा पोखरेलले विभाग प्रमुखको नाम नलिई पोखरेलले भने ‘बिपी कोइरालाकै समय देखी पार्टी भित्र हुने भेला छलफल बहसलाई पार्टीकै अङ्ग मानिदैं आएको छ, काँग्रेसको परम्परा थाहा नहुनेहरूले यसलाई फरक अर्थ लगाउन सक्छन् ।’

पत्रकार सम्मेलनमा सुनसरी-१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले काँग्रेसमा रूपान्तरण अहिलेको आवश्यकता भएको बताए । काँग्रेस कार्यकर्ताहरू काँग्रेसको सङ्गठन, नीति, कार्यशैलीको पूनसंचना हुनुपर्ने पक्षमा रहेकोले भेलाले नयाँ मार्ग निर्देशन गर्ने विश्वास गरिएको बताए ।

क्षेत्रीय सचिव महेन्द्र प्रधानले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रदेश क्षेत्रीय सभापति (क) अनिल श्रेष्ठ र (ख) मुरारी भट्टराई लगायत पदाधिकारीको उपस्थिति थियो ।