इटहरी : नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) जिल्ला कार्यसमिति मोरङले अराजक गतिविधिलाई प्रशय दिएको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्दै मोरङ नेविसंघले अराजकता प्रस्तुत गरेको हो । 

२२ वर्षसम्म विज्ञापन नखुलाएका पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका दाहाललाई निवासमै पुगेर नेविसंघले कालोमोसो दलेको छ । २ वर्षअगाडि अध्यक्ष नियुक्त भएका दाहालले लामो समय विज्ञापन नखुलेको कारण कर्मचारीको अभावमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका थिए ।

सोही विषयमा नेविसंघले ९ महिना देखी आयोगमा तालाबन्दी गरेको कारण विश्वविद्यालयले पदपूर्तिसम्बन्धी थप कुनै सूचना जारी गर्न सकेको थिएन । विश्वविद्यालयले ताला फोडेपछि कालोमोसो सम्मको हर्कतमा नेविसंघ पुगेको हो । मोरङ सभापति सरोज पोखरेलले कालोमोसो समयको माग भएको प्रतिक्रिया दिएका छन् । 

यसअघि उनले मनोनीत गरेका उपसभापति कृष्ण श्रेष्ठले विश्वविद्यालयलाई बन्धक बनाउन नहुने भन्दै ताला खोल्न सहमति दिएका थिए । जेठ १४ गते सर्वपक्षीय बैठकबाट ताला खोलिएको श्रेष्ठले बताए । 

पोखरेलको नेतृत्वमा परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा पनि ताला लगाइएको छ । जसको कारण ३२ गते हुने पूर्वाञ्चल विश्वविद्यालय मातहतका इन्जिनियरिङको परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन् । 

कालोमोसो दलेको प्रति केन्द्रीय सभापति दुजाङ शेर्पाले समेत खेद व्यक्त गरेका छन् । कालोमोसो दल्ने काम अमानवीय भएको भन्दै उनले छानबिनको लागि दिनेश शाहीको संयोजकत्वमा दिनेश रौनियार र दिनेश घले सदस्य रहेको समिति गठन गरेका छन् । सो समितिलाई सत्य तथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन बुझाउन उनले निर्देशन दिएका छन् ।

नेविसंघ अमानवीय कार्यको पक्षमा नभएको बताउँदै उनले उक्त गतिविधिमा संलग्न जो कोहीलाई पनि कडा कारबाहीको लागि गृह मन्त्रालय सँग आग्रह गरेका छन् ।