इटहरी : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार नीति तथा कार्यक्रम पास भएपछि अध्यादेश मार्फत बजेट प्रस्तुत गरेको हो ।

आर्थिक मामिला मन्त्रालय समेत सम्हालिरहेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रालयमै बजेट प्रस्तुत गरेका हुन् । बजेटमा ‘कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकाश कार्यक्रम’ को लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

प्रदेश सभाका माननीयको निर्वाचन क्षेत्र विकाशको लागि सो शीर्षकमा बजेट विनियोजन गरिएको बताइएको छ । सम्बन्धित क्षेत्रका सांसदले सिँचाइ, स्वास्थ्य, पर्यटन, खेलकुद, सडक, शिक्षा, खानेपानी लगायत क्षेत्रमा सो बजेटलाई उपयोग गर्न पाउने भएका छन् ।

त्यस्तै खानेपानीको विकराल समस्या भोग्दै आएको धरान उपमहानगरपालिकामा भने ४ करोड विनियोजन भएको छ । धरानका मेयर हर्कराज राईले श्रमदान मार्फत खानेपानी खुवाउने रणनीति बनाएका छन् । डिप वेलबाट भन्दा खोलाजन्य श्रोतको पानी खुवाउने राईले बताउँदै आएका छन्। त्यसै समयमा प्रदेश सरकारले डिप वेल निर्माणको लागि बजेट विनियोजन गरेको हो ।