धरान : भानुचौकको सार्वजनिक शौचालयको सरसफाइ भन्दा वरिपरि पसल राख्ने पसलको भाडामा सञ्चालकहरूको ध्यान गएको गुनासो गर्दै वडावासीले उपमहानगरपालिकामा ज्ञापन-पत्र बुझाएका छन् ।

कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईलाई बुधवार बुझाइएको ज्ञापन-पत्रमा भनिएको छ 'शौचालयको सरसफाइ एकदमै नाजुक अवस्थामा रहेको छ, जहाँ शौच गर्दा निसास्सिने अवस्था छ ।’

शौचालय वरिपरि खाजा नास्ता र फलफूलका पसल कोठा भाडामा लिएरै गर्न दिइएको पाइएको छ, कस्तो पसल कहाँ राख्ने हो स्वास्थ्य एवं सरसफाइ सम्बन्धी मापदण्ड बनाई सञ्चालन गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

दैनिक हजारौँ यात्रीले शौच गर्ने शौचालयको बेथितिले धरानको नकारात्मक छवि फैलाउने विषय बनेकोमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै सुधारका लागि तत्काल कार्य गर्न आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले शौचालयको व्यवस्थापन ठेक्का प्रथाबाट जिम्मा लगाउने भएकाले ठेकेदार नाफामुखी हुँदा सरसफाइ भन्दा आम्दानीमा बढी ध्यान गएको देखिएको छ ।

यसबारे वडा २ का अध्यक्ष रमेश राईसँग सम्पर्क गर्दा उपमहानगरपालिकाले टेण्डरमा ठेक्का लगाउने गरेको हुनाले शौचालयको व्यवस्थापनमा वडा कार्यालयको संलग्नता नरहेको बताए ।

उनका अनुसार सार्वजनिक शौचालयलाई आत्मनिर्भर बनाउन पसल कवल बनाइएको हो । राम्रो काम लाई नकारात्मक रूपमा हेर्नु उचित हुन्न । व्यवस्थित सरसफाइमा उपमहानगरपालिकाले ध्यान दिनु जरुरी छ ।

Bhanuchok-toilet-PR