धरान : एसइई स्पिकर २०८० को उपाधि विजेता बराहक्षेत्र स्थित भरौल बाल मन्दिर नडाहाकी एन्जिला कार्कीलाई शनिवार आयोजित समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई पुरस्कार प्रदान गरेका छन् ।

एञ्जिलाले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन् । प्रतियोगिता र्याडीकल लाइट नेपालले सञ्चालन गरेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिवार भएको हो ।

अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् । उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन् ।

सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला भइन् । उनले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको छन् ।

थर्ड रनरअप सान्त्वना पुरस्कार चन्द्र संस्कृत माविका सागर दाहालले प्राप्त गरे । उनले नगद ५ हजार रुपैयाँ, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । जेठ २० गते भएको सेमिफाइनलबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा बेस्ट परफरमेन्स जनता मावि नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ माविका सुदर्शन ढुङ्गेल, मस्ट सिन्सियर सरस्वती माविकी बिपना मग्राति घोषित भइन् ।

मस्ट पङ्चुअल जडेजा मावि कालाबन्जारकी मुना कटुवाल, मस्ट एक्टिभ सरस्वती माविका दिनेश खरेल, मस्ट डिसिप्लिन नबोदय विद्या मन्दिरकी सोप्रीया राई घोषित भइन । उनीहरूले प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।

धरान-१३ वडा कार्यालयको सभाहलमा भएको अन्तिम प्रतिस्पर्धा तथा समापनमा प्रमुख अतिथि मन्त्री राईले प्रतियोगीहरूलाई प्रगतिको मापन एउटा मापदण्डमा मात्र नहुने बताए । उनले भने ‘शिक्षा ग्रहण प्रत्येक क्रियाकलापहरूबाट मापन हुँदै मानव बिकासको सूचकाङ्कको सयौँ मापदण्डबाट मापन हुन्छ ।’

धरान-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले सामाजिक सञ्जालको प्रयोगले विद्यार्थीमा पर्ने प्रभावका बारेमा धारणा राखेका थिए ।

आयोजक कम्पनीका अध्यक्ष तीर्थ कार्कीले प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व विकास गर्न  मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।

निर्णायकहरूमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, सहिद स्मृति माविका शिक्षक टङ्क प्रसाद भट्टराई थिए । कार्यक्रम सञ्चालन नबिना मग्रातीले गरेको थिइन । 

see-speaker-final-2