इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिले सरकार गठनबारे आधिकारिक निर्णय गरेको छ । प्रदेश पदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेस नेतृत्वमै सरकार गठन गर्ने गरी समन्वयको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनेगरि अन्य दलहरू तथा केन्द्रीय नेतृत्वसँग पहल गर्ने जिम्मेवारी उपसभापति रमेशजङ्ग रायमाझीले पाएका छन् । रायमाझीको नेतृत्वमा अन्य पदाधिकारीहरू सदस्य रहनेगरी समिति गठन गरिएको हो । राप्रपा लगायत अन्य दलसँग को समन्वय र सहकार्यबारे रायमाझीले सहमतिको पहल गर्ने भएका छन् ।

शुक्रवार कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको लागि तयारी सुरु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि प्रक्रिया अगाडी बढाएका छन् ।

गठबन्धनका दलहरूको पनि बहुमत नपुग्ने भएपछि राप्रपालाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता आइलागेको छ । राप्रपाले कसको नेतृत्वको सरकारमा सहभागी हुने भन्नेबारे आधिकारिक निर्णय गर्न सकेको छैन ।

राप्रपाले निर्णय गर्न नसकेको बेला नेपाली काँग्रेसका उपसभापति रायमाझीले पहल गर्ने भएका छन् । प्रदेशमा मात्र हैन गठबन्धन भित्र पनि  काँग्रेसको पक्षमा निर्णय गराउने गरी रायमाझीले केन्द्रीय राजनीतिक समीकरण मिलाउन लाग्ने भएका छन् ।