इटहरी : कोशी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने गठबन्धनले निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको ५ दलिए गठबन्धनको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा आबद्ध नेकपा एसका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार प्रदेशमा सबैभन्दा ठुलो दल काँग्रेसलाई नेतृत्व दिने सहमति भएको हो । काँग्रेसले अन्य दललाई समेटेर सरकार चलाउने उनले जानकारी दिए ।

नेकपा एमालेका हिक्मत कार्कीले शुक्रवार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको तयारी सुरु भएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

हालको गठबन्धन सँग आवश्यक मत पुग्दैन । राप्रपाको ६ सांसदले समर्थन गरे थापा मुख्यमन्त्री बन्ने पक्का छ ।

हाल प्रदेशसभामा एमालेको ४०, राप्रपाको ६, काँग्रेस २९, माओवादीको सभामुखबाहेक १२, नेकपा एसको ४ र जसपाको १ सिट छ ।