धरान : नेपाल परिवार नियोजन सङ्घ सुनसरी जिल्ला शाखा कार्यसमिति सभापतिमा निर्मला अधिकारी विजयी भएकी छन् ।

निर्वाचन संयोजक विष्णु बरालका अनुसार आज भएको चुनावमा अधिकारीले कुल २६१ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत प्राप्त गरे । सभापतिका तेस्रो उम्मेदवार अलिम अन्सारी ३२ मत प्राप्त गरे ।

कार्यसमितिमा आरक्षित अपाङ्गता सदस्यमा सुनिल खड्का ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विद्याहाङ लिम्बुले १०४ मत प्राप्त गरे ।

आजीवन तथा साधारण ८२४ सदस्य रहेको सङ्घको चुनावमा आज ४६५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

११ सदस्यीय कार्यसमितिका कोषाध्यक्ष र अन्य सदस्यहरूमा यसअघि निर्विरोध निर्वाचन भैसकेको छ । सागर प्रसाईँ निर्विरोध कोषाध्यक्ष निर्वाचित भएका छन् ।

महिला सदस्य अगिता राई र हरिमाया विश्वकर्मा, युवा सदस्य संस्कृति मास्के, यौन तथा प्रजनन स्वास्थ्य विज्ञ कला थापा, लेखा प्रेशिका निरौला, कानुन विनोद सुवेदी निर्वाचित भएका छन् ।