धरान  : नेपाली काँग्रेस र नेपाल पत्रकार महासङ्घ सुनसरी बिच शुक्रवार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा काँग्रेसलाई पत्रकार महासङ्घले ५–४ गोलको अन्तरमा पराजित गरेको छ ।

प्रतियोगिता काँग्रेसको सुनसरी–१ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा आयोजना गरिएको हो ।

६० मिनेटको खेलमा पहिलो हाफको १५ औँ मिनेटमा काँग्रेसका अर्जुन राईले पहिलो गोल गरे । २५औँ मिनेटमा महासङ्घका धिरेन लिम्बूले १ गोल गरी खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा महासङ्घबाट धिरेनले पुनः गोल गरी ह्याट्रिक गर्दै टिमलाई ३-१ को अग्रता दिलाए । ४७औँ मिनेटमा काँग्रेसका भूपाल राईले १ गोल गरी खेललाई ३–२ अन्तरमा ल्याए ।

५१औँ मिनेटमा महासङ्घका विकास राईले थप १ गोल गरी ४-२ को अग्रता दिलाए । ५३औँ मिनेटमा काँग्रेसका किशोर राईले १ गोल गरी खेललाई ४–३ को अन्तरमा ल्याएका थिए ।

५५औँ मिनेटमा फेरी धिरेनले थप गोली गरी ५-३ को अन्तर महासङ्घको जीत सुनिश्चित गराएका थिए । अन्तिममा काँग्रेसका सुरज श्रेष्ठले गोल गरी खेललाई ५–४ मा पुर्‍याएका हुन् ।

खेलको म्यान अफ द म्याच महासङ्घका धिरेन लिम्बु घोषित भए । वेष्ट प्लेयर काँग्रेसका किशोर राई घोषित भए । समापनमा विजेता टिमलाई कप प्रदान गरियो ।

काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, पूर्व प्रदेश प्रमुख डा.गोविन्द तुम्वाहाङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय सहसचिव सुमित राई, सहसचिव भोजराज न्यौपाने, हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष क्षेत्रीय सदस्य प्रदीप थापा लगायतले खेलाडीहरूलाई कप, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

काँग्रेसका पूर्व नगर सभापति, कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईको संयोजनमा प्रतियोगिता भएको थियो ।