इटहरी : कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा २० करोड ७ लाख ३५ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १८ करोड १ लाख ५९ हजार राजस्व सङ्कलन गरेको प्रहरीले २०७९/८० मा ११.४२ प्रतिशत वृद्धि गरेको हो ।

राजस्व सङ्कलनमा सुधार गर्दै गरेको ट्राफिक प्रहरी आफै भने दाताको भरमा चल्ने गरेको छ । बैङ्किङ प्रणालीबाट जरिवाना भुक्तानी गर्ने अभ्यास सुरु गरेसँगै राजस्व सङ्कलन र ट्राफिक व्यवस्थापन दुवै प्रभावकारी हुने प्रहरीको विश्वास छ ।

विभिन्न कार्यक्रम तथा अन्य औजारहरू दाताको भरमा व्यवस्थापन गर्नुपरेको कोशी प्रदेश प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताएका छन् । ह्विल लक, सिसी क्यामेरा, कन्भेक्स मिरर, रिफ्लेक्टर स्टिकर लगायत सामग्री दाताले दिने गरेको उनले बताए ।

गत आर्थिक वर्षमा विभिन्न सामाजिक संस्था तथा स्थानीय सरकार बाट २ करोड ६२ लाख ५३ हजार बराबरको सामग्री प्राप्त भएको उनले जानकारी दिए ।

ट्राफिक सँग जरिवानाको ठेली काट्ने बाहेक अन्य अतिरिक्त बजेट नभएकाले सहयोगकै भरमा चल्नुपरेको एसपी महतोले बताए । सोही अनुसार चालु आर्थिक वर्षमा विभिन्न स्थानीय सरकारबाट ३ करोड ३४ लाख बजेट ट्राफिक व्यवस्थापनमा छुट्याउन लगाएको उनले प्रष्ट पारेका छन् ।

कारबाहीको सङ्ख्यामा वृद्धि भएसँगै राजस्व सङ्कलनमा प्रभाव परेको प्रहरीले जनाएको छ । कारबाही र ट्राफिक व्यवस्थापनले सवारी दुर्घटना, मृत्यु तथा घाइतेको सङ्ख्यामा कमी हुँदै गएको बताइएको छ।

गत आर्थिक वर्षमा ३५१० सवारी दुर्घटना भएको र त्यसमा ४१२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । विगतमा १९ हजार सचेतना कार्यक्रम गरेर ३ लाख सेवाग्राहीलाई प्रभावित पारेको प्रहरीले गत आर्थिक वर्षमा २६ हजार कार्यक्रम गरेर ६ लाखलाई प्रभावित पारेको छ ।

यस सँगै इटहरी, धरान, विराटनगर, दमक, विराटचोक, झुम्का, दुहबी लगायत बढी ट्राफिक हुने क्षेत्रमा वैज्ञानिक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।