इटहरी  : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरे लगत्तै तीन थप तिन सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन् । थापालाई मुख्यमन्त्री नियुक्त गर्नको लागि बहुमत पुर्‍याउन सभामुख बाट राजीनामा दिएका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् । जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

जबेगु र सुनुवार यसअघि असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । सर्वोच्च अदालतले सभामुखको समर्थनमा मुख्यमन्त्री बनेका थापाको नियुक्ति अवैधानिक भएको भन्दै खारेज गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्ने भएकाले गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् ।