धरान : धरान-८ भोटेपुलका ६४ वर्षीय दिलबहादुर कार्कीलाई प्रहरीले लागुऔषध स्पास्मोप्रोक्सिवन १०० ट्याब्लेट सहित हिजो बुधवार पक्राउ गरेको छ । उनलाई धरान-८ अस्थायी प्रहरी पोस्ट बरगाछीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-६ घर भई हाल धरानको भोटेपुलमा होटेल सञ्चालन गरी बसेका कार्की माथि शङ्का लागि चेकजाँच गर्दा उनको सुत्ने कोठा लागुऔषध बरामद गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसै गरी धरान-१० की १९ वर्षीय श्रदा क्षेत्री, २३ वर्षीय य किसन राई, १५ वर्षीय गोपाल क्षेत्री र १७ वर्षीय उत्सव बिकलाईलाई धरान-२ वडा प्रहरी कार्यालयको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बुधवारै झापाको मेचीनगर-१४ का २२ वर्षीय अजय राजवंशी र मेचीनगर-१२ का २२ वर्षीय समीर धिमाललाई पनि कडा लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

चारआली प्रहरी चौकीको टोलले चारआली चौकमा शङ्कास्पद अवस्थामा हिडीरहेका अवस्थामा राजवंशीर्ला चेकजाँच गर्दा ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका सातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।