धरान : इटहरी-८ का २६ वर्षीय विशाल सिंह, बिर्तामोड-४ का ३५ वर्षीय तेजबहादुर राई र ३८ वर्षीय कृष्ण लिम्बुलाई कडा लागु औषध ब्राउनसुगर सहित प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय अनारमनी झापा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले बिर्तामोड-४ नयाँ बिजुली अफिस छेउबाट सन्तोष भन्ने तेज बहादुर राई र राज भन्ने कृष्ण लिम्बुलाई १० ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट भारतीय सीमाबाट नेपाल आउँदै गरेका इटहरी-८ का विशाल सिंहलाई लागु औषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।