इटहरी : जलवायु परिवर्तनको असर व्यापक भएकाले पर्यावरण मैत्री विकास निर्माणमा ध्यान दिन उपसभामुख मिरा राना मगरले आग्रह गरिन । इटहरीको उखरमाउलो गर्मीमा सम्बोधन गर्न पुगेकी उनले जलवायु परिवर्तनमा गम्भीर हुन सचेत गराइन ।

उद्योग वाणिज्य सङ्घ इटहरीले आयोजना गरेको महिला उद्यमी मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभाकी सभामुख मगरले पानीको मुहान बन्द हुँदै गएकोमा चिन्ता व्यक्त गरिन । बेमौसमी बाढी र सतहको पानी सुक्दै गएकोमा उनले ध्यानाकर्षण गराइन ।

महिला उद्यमीको उत्पादनले बजार पाउने व्यवस्था मिलाएकोमा उवासंघ इटहरीलाई धन्यवाद दिइन । बच्चा च्यापेर, सासू ससुराको हेरचाह गरेर पनि राजनीति शिक्षा र उद्यमशीलतामा महिलाहरू लाग्नु कम चुनौतीपूर्ण नरहेको उनको बुझाइ छ । चुरा लगाउन नसिकाउने हो भने महिलाहरू सधैँ प्रथम हुने मगरको विश्वास छ ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मिना श्रेष्ठ र प्रतिनिधिसभा सदस्य कल्पना चौधरीलाई सम्मान गरिएको थियो ।