पोल्याण्डमा आइतवार शुरु हुने जलवायु परिवर्तन सम्बन्धी कोप २४को सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा देखिएका प्रभावको मुद्दालाई पुन: उठाउने तयारी गरिरहेको अधिकारीहरूले बताएका छन्। नेपालले आगामी दिनमा बनाउने विकास निर्माण सम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने खालका प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।आइतवारदेखि पोल्याण्डमा सुरु हुने राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २४ औँ सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाउने तय भएका बेला विज्ञहरूको यस्तो सुझाव आएको हो। उक्त सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमशिखर र हिमतालहरू पग्लेर नकारात्मक असरहरू देखिन थालेको बारे कुरा उठाइने अधिकारीहरूले बताएका छन्। उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसहितको टोली पोल्याण्ड जाँदैछ। अघिल्ला वर्ष जस्तै यसपटक पनि नेपालले जलवायु परिवर्तनमा नगण्य भूमिका भए पनि त्यसबाट अत्यधिक प्रभावित मुलुकका पक्षमा आवाज उठाउने अधिकारीहरूले बताएका छन्। सम्मेलनमा भाग लिन पोल्याण्ड पुगेका वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन महाशाखाका प्रमुख महेश्वर ढकालले भने, "हाम्रा हिमशिखरहरू पग्लने, बाढी पहिरो आएर तल्लो तटीय क्षेत्रमा बस्ने नेपालीहरूको ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ भन्ने कुरा हामी उठाउँछौँ। "अर्को नेपाल जस्तो पहाडी मुलुक जसले जलवायु परिवर्तनमा नकारात्मक असर पार्न ठूलो भूमिका छैन ती मुलुकहरूलाई सहयोग गर्न हामी आवाज उठाउँछौँ।" तर यस्ता मञ्चहरूमा जानु अघि राम्रो तयारी गर्न नसकेका कारण नेपालको प्रस्तुति प्रभावकारी नहुने गरेको विज्ञहरू बताउँछन्। अझ नेपालले निर्माण अघि बढाएका नयाँ फराकिला सडक र विमानस्थलजस्ता ठूला पूर्वाधारका योजनाका कारण वातावरणमा पर्ने प्रभावबारे सचेत हुनुपर्ने उनीहरूको बुझाइ छ। एकजना वातावरण विज्ञ भुषण तुलाधरले भने, "अन्य विकसित राष्ट्रहरुको बाटो पछ्याउने कि कम कार्बन उत्सर्जन गरेर र हाम्रा वन जंगलको सक्दो संरक्षण गर्दै विकास गर्ने भनी हामीले विचार गर्ने समय आएको छ। यो हाम्रै लागि हो भनी बुझ्न सबैभन्दा महत्वपूर्ण छ।" यस्ता मञ्चहरूबाट अन्य मुलुकहरूसँग राम्रो सञ्जालको विकास गर्ने र अन्य देशहरूको प्रस्तुतिबाट नयाँ पाठ सिक्ने अवसर पनि रहेको कतिपयको बुझाइ छ। तर जलवायु परिवर्तनसम्बन्धी यस्ता मञ्चहरूमा नेपाली प्रतिनिधिहरू घुमघामका लागि मात्र जाने र तीनमा चाहिनेभन्दा धेरै मानिसहरू जाने गरेको भन्दै आलोचना हुने गरेको छ। जलवायु परिवर्तनका असर नेपालको हिँउ नेपालका हिम श्रृखलाहरुमा देखिन थालेको छ।

BBC Nepali