धरान : धरानमा आज सोमवार आयोजित चौथो खुल्ला लाखे प्रदर्शन प्रतियोगितामा रामधुनी नगरपालिका झुम्काको लाखे समूहले प्रथम स्थान हासिल गरेको छ ।

सुनसरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी १६ लाखे समूहलाई उछिन्दै नेवा: देय दवु झुम्का रामधुनीले २१४ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो। समूहले प्रथम पुरस्कार नगद २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता नेवा: देय दवु धरान नगर समितिले आयोजना गरेको हो । दबुले पाँच वर्ष अघि देखी लाखे जात्राको अवसरमा लाखे प्रदर्शन प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगितामा दोस्रो स्थान बराहक्षेत्र नगरपालिकाको लाखे समूहले हासिल गरेको छ ।  नेवा: देय दबु मधुवनको समूहले १९३ अङ्क प्राप्त गरी दोस्रो भएको हो ।

तेस्रो स्थान धरान उपमहानगर लाखे समूहको ‘झिगु लाखे पुच’ले हासिल गरेको छ । उक्त समूह कुल १८० अङ्क प्राप्त गरी तेस्रो भएको हो ।

प्रतियोगितामा सान्त्वना पुरस्कार ‘नेवा: देय दवु बालग्राम'लाई प्रदान गरिएको छ । उक्त समूहले १६१ अङ्क प्राप्त गरेको थियो । उक्त समूहहरूले पुरस्कार रकम क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा १६ वटा लाखे समूह बिच प्रस्तुति शैलीमा प्रतिस्पर्धा भएको थियो । अप्रतियोगी समूहका रूपमा ५ लाखे समूहले पनि लाखे नृत्य प्रस्तुत गरेको थियो । कुल २१ लाखे समूह मध्ये काठमान्डु चन्द्रागरी लाखे समूह पासा खल:, नेवा सांस्कृतिक कला पुञ्ज, नेवारी नृत्य धरान र इटहरी नेवा: पुच महिला समूह अप्रतियोगी समूह थिए ।

लाखे नृत्य प्रदर्शनमा प्रतिस्पर्धी समूहहरूमा जाल्पा देवी लाखे समूह, सिंह देवी लाखे समाज, नेवा: समाज चक्रघट्टी, झिगु लाखे पुच, युवा समाज, नौलो लाखे समाज धरान, भानु क्लब धरान, शान्ति पथ लाखे, हाम्रो लाखे समूह, धनसिंह लाखे समूह, युवा सङ्घ धरान, दाफा भजन खल, पुतली लाखे समाज थिए ।

नेवा: देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले नेवार समुदायको मौलिक सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको बताए । लाखे प्रदर्शनमा विकृति, विसंगत बढेकाले मर्यादित बनाउन लाखे प्रतियोगिता आयोजना गरिएको उनले स्पष्ट गरे ।

समापनमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान सबै जातजाति मिलेर बसेको सहर भएको बताउँदै सामाजिक सद्भाव, जातीय, धार्मिक सहिष्णुता कायम राख्नु पर्ने कुरमा जोड दिए ।

उपमेयर आईन्द्रबिक्रम बेघाले धरान सांस्कृतिक विविधता र पहिचानयुक्त सभ्यता बोकेको सहर भएको बताए । प्रतियोगिताका निर्णायकहरू थर्कमान श्रेष्ठ, जितेन्द्र बज्राचार्य, समीर आचार्जु थिए ।

प्रतियोगिता प्रदर्शनमा कोशी प्रदेशका सांसद यशोदा कायस्थले पुरस्कार वितरण गरेकी थिइन् । लाखे नृत्य प्रदर्शनको सञ्चालन नेवा देय दबु धरानका सचिव दीपेन्द्र कसजुले गरेका थिए ।

यसअघि सिद्ध नेवा परिषद् भवन देखि निक्लेको लाखे र्‍यालीले बजार परिक्रमा गरेको थियो । भानुचोक, छाता चोक, टेलिकम अगाडिबाट पुरानो बजार हुँदै सिंहदेवी चोकबाट प्रतियोगिता स्थल भानुचोकमा आएर सभामा परिणत भएको थियो ।

lakhe-dance-3lakhe-dance-2