धरान: आधिकारिकता जातीय संस्थाबाट स्वीकृति नलिई जथाभावी लाखे नाच निकाल्ने प्रवृत्तिको अन्त्य गर्न नेवाः देय् दबूले कडाई गरेको छ ।

धरानमा लाखे नाचलाई मर्यादित बनाउनको लागि दबूले आचारसंहिता नै जारी गरेर कडाई गरेको हो । नेवार जातिको प्रमुख सँस्कृति लाखे नाच जथाभावी निकालेर विकृति फैलाएकोले कडाई गर्ने निर्णय गरेको दबूले आज सोमबार स्वीकृति विना निकालेको लाखे नियन्त्रणमा लिएको छ । धरान ९ स्थित आचार्य लाइनमा स्वीकृति विना निकालेको लाखे नाचको ढोल, झ्याम्टालगायतको सामग्री नियन्त्रणमा लिइएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । आचार्य लाईनमा पवन बिक र बिशन परियारको नेतृत्वमा विना स्वीकृति लाखे नाच निकालेको पाइएकोले सबै सामान जफत गरेको शाक्यले बताए । सामान लिन अभिभावकसहित आउन भनेको उनले बताए ।

नाग पञ्चमीदेखि शुरु हुने लाखे नाच अत्यधिकरुपमा निकाल्ने गरिएको छ । जथाभावीरुपमा निस्कने लाखे नाचले विकृति बढाएको भन्दै दबुले धरानमा लाखे नाच मर्यादित तथा व्यवस्थित गर्न ९ बुँदे आचारसंहिता नै जारी गरेको थियो । दबुले जारी गरेको आचारसंहितामा धरान क्षेत्र भित्र रहेका सम्पूर्ण लाखेनाच नचाउने समूह वा संस्थाहरु नगर दबूमा अनिवार्य दर्ता गराउर्दै सुचिकृत गर्नु पर्ने उल्लेख छ । यस्तै, लाखेनाच समूह वा संस्थाहरु आप्mनो परिचय खुल्ने गरी व्यानर वा परिचय पत्र वा टिर्सट लगाउनु पर्ने, धरान भित्र रहेका घर वा व्यापार व्यवसायी क्षेत्रमा आर्थिक संकलन गर्न नपाईने नियम जारी गरेको छ ।

यसैगरि, लाखेनाच गराउँदा स्वतस्फुर्तरुपमा प्राप्त आर्थिक सहयोग वा निम्तो प्राप्त भई श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी) ग्रहण गर्न सकिने, धरान क्षेत्रबाट बाहिर जाने वा धरानमा आमन्त्रित लाखे समूहको उद्देश्यसहित लिखित जानकारी गराउनु पर्ने, मदिरापान वा मादक पदार्थ वा लागू पदार्थ सेवन गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । यस्तै, लाखेनाच सँस्कारसँग प्रत्यक्ष सरोकार राख्ने समुदाय बाहेक अन्य समुदायले लाखेनाच गराउन नपाउने, बाल लाखेनाच गर्ने वा गराउने समुहलाई विशेष रुपमा केन्द्रित गर्दै उमेर नपुगेका बालबालिकाहरुलाई लाखेनाच समूहमा हिड्न नदिने पनि नियम बनाइएको छ । आचारसंहिता उल्लंघन गरेको पाईएमा ढोल, भ्mयाम्टा जफत गर्नुका साथै कानून बमोजिम प्रहरी प्रशासनको सहयोगमा कार्वाही गर्ने पनि दबुले जनाएको छ ।